बागमतीमा आफन्त र कार्यकर्ताको मात्रै करार सम्झौता नवीकरण गरेको आरोप

साझाकुरा
२०७९ श्रावण ६, शुक्रबार ०९:१४

हेटौंडा- मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा करार सेवाका कर्मचारी हटाइएको विरोधमा पूर्वकर्मचारीहरु आन्दोलित भएका छन् । बागमती गाउँपालिकाको पूर्वकृषि शाखा प्रमुख अशोक ग्यालनको नेतृत्वमा कर्मचारीहरुले पत्रकार सम्मेलन गर्दै गाउँपालिका अध्यक्ष सर्केश घलानको व्यवहारप्रति कटाक्ष गरेका हुन् । उनीहरुले अध्यक्ष घलानद्वारा आफ्ना कार्यकर्ता र आफन्तको मात्रै करार सम्झौता गरेको आरोप लगाएका छन् ।घलानले राजनीतिक प्रतिशोधको आधारमा करार सेवाका कर्मचारीको सम्झौता नवीकरण नगरेको बताए । गाउँपालिकाले करारका अधिकांश कर्मचारीहरुको करार सम्झौता नविकरण गरेको र केहीलाई भने सम्झौता गर्न रोक लगाएको जनाइएको छ ।

३० वैशाखमा भएको स्थानीय तह सदस्य निर्वाचनमा दोस्रो पटकका लागि गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित घलानले आफ्ना र माओवादी केन्द्र निकटका करार सेवाका कर्मचारीहरुको सम्झौता नविकरण गरेको ग्यालनले बताए ।राजनीतिक प्रतिशोध साँधेर काम गरिरहेका १७ जना कर्मचारीलाई निकालिएको उनको भनाइ छ । उनले निकालिएको कर्मचारीहरु नेकपा एमाले र नेपाली कांग्रेस निकट रहेको बताए ।गाउँपालिकाले ३१ असारमा सूचना प्रकाशित गरेर ६९ जना करारका कर्मचारीको सम्झौता नविकरण गरेको र १७ जना कर्मचारीको सझौता नविकरण नगर्ने जानकारी गराएको थियो ।

‘हामीलाई किन त्यहाँबाट बाईपास गरियो ? एउटै क्षेत्रमा काम गर्ने, एउटै क्षेत्रबाट गाउँपालिकामा प्रवेश गरेको छ । सबै करारका कर्मचारीहरु । हाम्रो नविकरण नहुने, उहाँहरुको करार नविकरण हुने ?,’ ग्यालनले भने । उनले करार सम्झौता २०७८ को परिच्छेद ४ मा करार सम्झौता सम्बन्धि व्यवस्थामा कर्मचारीको कार्य सम्पदान र स्तर मूल्यांकनका आधारमा मात्र कर्मचारी हेरफेर गर्न सकिने व्यवस्था रहेको बताए ।

निकालिएका करार सेवाका कर्मचारीहरुले यसअघि गाउँपालिका अध्यक्ष घलानलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । तर, अध्यक्षबाट सकारात्मक धारणा नआएको उनीहरुको भनाइ छ । निकालिएका १७ जना कर्मचारीहरु गाउँपालिकाविरुद्ध अदालत जाने तयारी गरेका छन् । ग्यालनका अनुसार अदालतमा मुद्दा दायर गर्ने विषयमा छलफल भइरहेको छ । मकवानपुरका अन्य गाउँपालिकाले पनि करार सेवाका कर्मचारी निकालेको छ । कैलाश र मकवानपुरगढी गाउँपालिकाले यसअघि नै कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको छ । यी दुवै गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमालेले जितेको थियो भने यसवर्षको निर्वाचनबाट कांग्रेसले नेतृत्व गर्ने जिम्मेवारी पाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*