जग्गाको भाडा नबढाउन माग गर्दै ज्ञापनपत्र

साझाकुरा
२०७९ श्रावण १३, शुक्रबार ११:३४

हेटौंडा- औद्योगिक क्षेत्रको भाडादर नबढाउन माग गर्दै उद्योग संघ मकवानपुरले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई ज्ञापनपत्र बुझाएको छ । हेटौंडाको उद्योगहरुको अवस्थाको अवलोकन गर्न आएका मन्त्री बडुलाई संघले जग्गाको भाडादर नबढाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो । संघका अध्यक्ष स्वागतराज प्याकुरेलले बुझाएको ज्ञापनपत्रमा २०७२ सालको भूकम्प, नाकाबन्दी, कोभिड–१९ को मार, रसिया–युक्रेन युद्धलगायतका कारणले उत्पन्न विषम् परिस्थितिमा उद्योगीले कुनै पनि हालतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा भुक्तानी गर्न नसक्ने उल्लेख गर्दै उद्योग संघ मकवानपुरले जमिन बहालसम्बन्धी समस्याको दीर्घकालिन समाधानको उपाय अबलम्बन गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयले जग्गा भाडा बढाउने निर्णय गरेसँगै उद्योगी व्यवसायीहरुले त्यसको विरोध गरेका छन् । कार्यालयले २०७५ को निर्णय अनुसारको बढेको जग्गा भाडा भुक्तानीका लागि उद्योगीहरुलाई पत्रसमेत काटिसकेको छ ।लिमिटेडले हेटौंडा औद्योगिक क्षेत्रको हाल कायम भाडा दरमा १३३ प्रतिशत वृद्धि गरेर सोही अनुसारको भाडा भुक्तानीका लागि पठाएको हो । लिमिटेडको २०७५ मंसिर ५ गतेको निर्णय अनुसारको भाडा तिर्नुपर्ने भन्दै ४ वर्ष पछि उद्योग प्रतिष्ठानहरुलाई पत्र काटेको जनाइएको छ ।

लिमिटेडले हेटौंडा औद्योगिक क्षेत्रको प्रति रोपनी १९ हजार ६९१ रुपैयाँको दरले भाडा भुक्तानी गर्न औद्योगिक क्षेत्रका १४९ वटा उद्योगहरुलाई पत्रसहित बिल पठाएको छ ।
ती उद्योगहरुलाई कुल १४ करोड भन्दा बढी रकमको बिल पठाइएको जनाइएको छ । बिल अनुसार हेटौंडा औद्योगिक क्षेत्रमा १७ रोपनी जग्गा भाडामा लिएर संचालन गर्दै आएको एउटा उद्योगले यसै महिनामा ९ लाख ५ हजार रुपैयाँ भाडा भुक्तानी गर्नुपर्ने भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*