उपमहानगरको तालिमले कपडा उत्पादन गर्दै महिला

साझाकुरा
२०७९ श्रावण १६, सोमबार १०:१७

हेटौंडा सरकारी निकायहरुले दिँदै आएका सीप विकास सम्बन्धि तालिमलाई व्यवहारमा उतार्न नसक्दा त्यसको प्रभावकारितामै प्रश्न चिन्ह खडा हुने गरेको प्रशस्तै देखिन्छ ।
अझै, सरकारी निकायले दिने तालिम भाषणमै सीमित हुने गरेको आरोप लाग्दै आएको छ । तर, हेटौंडा उपमहानगरपालिकाले दिएको एउटा तालिम जसले ११ महिलाहरुलाई उद्यमशील बनाएको पाइएको छ । उपमहानगरले दिएको ढाकाको कपडा उत्पादन गर्ने तालिम तालिममा मात्रै सीमित नभई महिलाहरुले व्यवहारमै प्रभावकारीसँग उतार्न सफल भएको पाइएको हो । तालिमको प्रभावकारिता बारे आइतबार अनुगमन गर्दा महिलाहरु ढाकाको कपडा उत्पादन गर्न समक्षम रहेको पाइएको छ । कपडाको व्यवसायमा मंहगो मानिने ढाकाको उत्पादनमा हेटौंडाका महिलाहरु जोडिएका हुन् ।

उपमहानगरपालिकाले हेटौंडा, १५, १७ र १८ नम्बरका ११ जना महिलाहरुलाई ढाकाको कपडा तथा अन्य सामग्री उत्पादनको लागि एड्भान्स तालिम दिएको हो । उनीहरुले तालिम दौराहन ढाकाको धागोमार्फत सल, पछ्यौरा, साडी, हाते व्याग कुर्ता र खादा जस्ता सामग्रीहरु उत्पादन थालेका छन् । हेटौंडा उपमहानगरपालिकाले प्रदान गरेको एड्भान्स ढाकाको कपडा बुनाई तालिममार्फत पोख्त बन्दै गरेका नगरभित्रका महिलाहरु ढाकाको कपडा उत्पादनमा जोडिएका छन् ।उपमहनगरको सहकार्यमा गरिवी निवारणका लागि लधु उद्यम बिकास कार्यक्रम (मेड्पा) बाट दुई महिने ढाकाको कपडा बुनाई सम्बन्धी बेसिक तालिम लिएकालाई उपमहानगरपालिकाले आफ्नै लगानीमा एड्भान्स तालिम दिएसँगै हेटौंडाका महिलाहरु ढाकाको कपडा उत्पादनमा सक्षम देखिएका हुन् । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामासहितको टोलीले आइतबार तालिमको अनुगमन गरेको थियो । प्रशिक्षणको क्रममा रहेकाहरुले आफैले उत्पादन गरेको ढाकाको सलले अनुगमन टोलीलाई स्वागत गरेका थिए । करिब ३ लाख रुपैयाँको लगानिमा उपमहानगरले तिन वटा वडामा रहेका ११ जना महिलाहरुलाई एड्भान्स तालिम दिँदै आएको छ ।

तालिम साउन २१ गते सम्म सञ्चालन हुने हेटौंडा उपमहानगरपाकिला आर्थिक विकास महाशाखाका प्रमुख गंगा चौलागाईले बताइन् । अहिले तालिमको क्रममै सहभागीले निकै महंगो मुल्यका सामानहरु उत्पादन गर्ने थालेको उनले बताइन् । सहभागीलाई १२ वटा तानमार्फत ढाकाका बिभिन्न सामान उत्पादन गर्नका लागि सिन्धुलीका बेलिमाया जिनेल मगर उनको सहयोगीले प्रशिक्षण दिइरहेका छन् । तालिमको अनुगमन गर्दै हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले तालिम पछि ढाकाको कपडा तथा अन्य सामग्रीको उत्पादनमा जोडिँदै आर्थिक उपार्जनमा लाग्न आग्रह गरेकी छन् ।

उनले संधै परिवारको ऋण बोक्ने मात्र नभई उत्पादनसँग जोडिएर आफै सक्षम बन्ने कार्यमा लाग्न प्रोत्साहन गर्दै तालिम लिएका महिलाले बर्ष भरीमा धेरै उत्पादन र बिक्री गर्नेलाई सम्मान गरिने प्रतिबद्धता जनाएकी छन् ।अनुगमनका क्रममा हेटौंडा १८ का अध्यक्ष अनिल बानियाँले तालिमको नाममा तालिम मात्र दिने नभई प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह गरे । तालिम भनेपछि हरेक ठाउँमा जाने व्यवहारलाई त्यागेर दिगो र व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बानियाँको भनाइ छ । नगरपालिकाले महिलाहरुको आर्यआर्जनका लागि दिएको तालिम बालुवामा पानी हाले झै नबनाउन वडाध्यक्ष बानियाँले सहभागीहरुलाई सुझाव दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*