जग्गा बेचेर नयाँ प्लान्ट जडान गर्ने हेटौंडा सिमेन्टको योजना

साझाकुरा
२०७९ श्रावण २५, बुधबार ०८:०३

हेटौंडा- चार वर्षदेखि निरन्तर घाटामा रहेको हेटौंडा सिमेन्ट उद्योगले आफ्नो स्वामित्वको जग्गा बेचेर नयाँ मेसिन जडान गर्ने योजना बनाएको छ ।उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले उद्योगलाई नयाँ गतिमा लैजान जग्गा बिक्री गरेर नयाँ प्रविधिको मेसिन उपकरण ल्याउने योजना बनाएका हुन् । हेटौंडा सिमेन्ट उद्योगमा ४० वर्ष पुराना टेक्नोलोजी र थोत्रा मेसिनका कारण नियमित सिमेन्ट उत्पादन हुन सकेको छैन ।टेक्नोलोजी परिवर्तन गरी उद्योगलाई नियमित सञ्चालन गर्ने योजनामा रहेका पाण्डेले रातोमाटेको जग्गा बिक्री गर्ने तयारी गरिरहेको जानकारी दिए । तर, जग्गा बिक्री गर्ने बारे अन्तिम निर्णय भने भइसकेको छैन । उद्योगको रातोमाटेको जग्गा खरिद गर्न राष्ट्र बैंक इच्छुक रहेको पाण्डेले जानकारी दिए ।

पाण्डे ३ महिनाअघि मात्रै उद्योगको महाप्रबन्धकका रुपमा आएका थिए । उनले आफू आएदेखि नै उद्योग पटक–पटक बन्द भइरहेको बताउँदै प्रविधि नयाँ जडान गर्नुपर्ने बताए । हेटौंडा सिमेन्टलाई समेन्ट उत्पादन गर्ने देशभरका उद्योगमध्ये सबैभन्दा बढी गुणस्तरीय र विश्वासिलो मानिन्छ । गुडबिलले मात्रै टिकेको हेटौंडा सिमेन्ट बन्द हुने अवस्थामा पुगिसकेको छ । उद्योग निरन्तर चल्ने र बन्द भइरहने अवस्थाबाट गुज्रिएको उनी बताउँछन् । ‘उद्योगमा नयाँ मेसिन नल्याएसम्म समस्या हट्दैन । एउटा बनाएर चलायो अर्को बिग्रिहाल्छ, कति बनाउनु जति बनाएपनि नियमित चल्न सकेन । नयाँ उपकरण ल्याएर उत्पादन थाल्नुपर्ने भएकाले सरकारसँग पहल गरिरहेको छु’, पाण्डेले भने ।
उद्योगले विगत चार वर्षमा करिब ८० करोड घाटा व्यहोरेको छ ।

घाटासँगै उद्योग करिब २० करोड ऋणमा पनि डुबेको छ । गत आव २०७८÷०७९ मा मात्रै उद्योगले करिब साढे २३ करोड घाटा व्यहोर्नु परेको महाप्रबन्धक पाण्डेले जानकारी दिए । गत आवमा एक अर्ब २२ करोड आम्दानी गरेको उद्योगले एक अर्ब ३९ करोड खर्च गरेको छ ।उद्योगले आव २०७४÷०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको थियो । त्यसयता उद्योग निरन्तर घाटामा छ । आव २०७५÷०७६ मा उद्योगले १ करोड ५ लाख, आव ०७६÷०७७ मा २३ करोड ८२ लाख, आव ०७७÷०७८ मा थप १७ करोड चार लाख नोक्सान व्यहोर्नु परेको उद्योगले जनाएको छ । पछिल्लो ४ वर्षमा लगातार घाटामा चलिरहेको सरकारी स्वामित्वमा रहेको हेटौंडा उपमहानगरपालिका–९ को लामसुरेस्थित उद्योगले आफ्नो खाली जग्गा बेच्ने तयारी गरेको हो ।

नयाँ मेसिन जडान गर्न उद्योगको केही खाली जग्गा सरकारी कार्यालयहरुलाई बेच्न सकिनेबारे मन्त्रिपरिषद्लाई जानकारी गराइएको उद्योगका महाप्रबन्धक पाण्डेले बताए ।‘हामीसँग प्रयोग नभएको जमिनहरु विघौ विगाह छ । प्रदेशको राजधानी हेटौंडा भएपछि यहाँ राष्ट्र बैंकले जग्गा खोजी गरिरहेको छ । उनले भने, हाम्रो प्रयोग नभएको करिब १२ विगाह जति जमिन अर्को सरकारी निकायलाई बेच्न सक्यौं भने केही अर्ब रकम आउँछ र केही सरकारले सहयोग गर्दा नयाँ प्लान्ट जडान गर्न सकिन्छ’, पाण्डेले भने । हाल उद्योग नियमित सञ्चालनका लागि ८० करोडदेखि १ अर्ब खर्च लाग्ने अनुमान पाण्डेको छ । उद्योगमा नयाँ प्लान्ट जडान गर्न ५ अर्बदेखि ८ अर्ब खर्च लाग्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*