बागमतीका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखिने

साझाकुरा
२०७९ श्रावण २५, बुधबार ०८:०८

हेटौंडा-गण्डकी प्रदेशमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने बागमती प्रदेशका खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राखिने भएको छ ।
प्रदेश सरकारले राष्ट्रिय खेलकुदमा बलियो मानिएको विभागी टोलीको भन्दा राम्रो नतिजा निकाल्न ४५ दिन बन्द प्रशिक्षण सञ्चालन गर्ने भएको हो । विभागीय टोली नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनामा आवद्ध खेलाडीहरुले धेरै नतिजा ल्याउने गरेका छन् ।त्यसलाई तोड्न बन्द प्रशिक्षण चलाएर बागमतीका खेलाडीलाई राम्रो बनाइने तयारी गरिएको प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारीले बताए । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेश सरकारले तयारी तीव्र बनाएको हो ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीले १० भदौभित्र जिल्लाबाट खेलाडी छनौट सक्ने तयारी गरेको भण्डारीले बताए । यसैगरी, २० भदौभित्र प्रदेशबाट खेलाडी छनोट गरिने जनाइएको छ । प्रदेशबाट छनौट भएका खेलाडीले बागमती प्रदेशको प्रतिनिधित्व गर्दै विधागतरुपमा राष्ट्रिय खेलकुदमा विभागीय टोलीका र अन्य प्रदेशका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।प्रदेश छनोट सकिएपछि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने भण्डारीले जानकारी दिए । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगता गर्ने देशका सात प्रदेशमध्ये पहिलो हो । बागमतीका पाँच जिल्लामा गतवर्ष प्रदेश खेलकुद प्रतियोगिता गरिएको थियो ।

प्रदेश खेलकुद विकास परिषद्को बोर्ड बैठकले तयारीलाई अघि बढाउँदै ३६ खेलमा नै खेलाडीहरुलाई प्रतिस्पर्धा गराउने निर्णय गरेको छ । प्रदेश सरकारले राष्ट्रिय खेलकुदका लागि भन्दै चालू आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट छुट्याएको थियो । प्रदेश सरकारले राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोटमा १ करोड ३० लाख, प्रदेश छनोटमा ५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौंको तयारीका लागि भन्दै प्रत्येक प्रदेशलाई ४९ लाख रुपैयाँ बजेट दिने निर्णय गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*