निर्वाचन मंसिरमै हुन्छ, गठबन्धन टुट्दैनः मन्त्री पौडेल

साझाकुरा
२०७९ श्रावण २६, बिहीबार ०९:०२

हेटौंडा- नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनताले स्वतन्त्रहरुलाई जिताउन थालेपछि राजनीतिक दलहरु सचेत भएको बताएका छन् ।
बुधवार हेटौंडा आएका मन्त्री पौडेलले स्वतन्त्र उम्मेदवारलाई जनताले जिताउँछन भन्ने स्थानीय तहको निर्वाचनबाट देखिएको भन्दै दलहरु सचेत भएको बताए । प्रेस सेन्टर मकवानपुरले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पौडेलले आगामी ४ मंसिरमा घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । सरकारले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा गर्ने उनको भनाइ छ । निर्वाचनमा वर्तमान गठवन्धन कायम रहने मन्त्री पौडेलको भनाइ छ । गठबन्धन प्रणाली स्थापित गर्ने मुख्य अभियानमा लागेको भन्दै निर्वाचनसम्मै एक भएर जाने बताए ।

गठबन्धनभित्र सिट बाँडफाँडमा पनि कुनै समस्या नभएको उनले बताए । ‘गठबन्धनका दलहरु औपचारिक रुपमा बैठक बसिरहेका छन् । सिट बाँडफाँडबारे छलफल भइरहेको छ । बाहिर आएको हल्ला जस्तो छैन् । निर्वाचनमा कसरी जाने बारे छलफल भइरहेको भन्दै गठबन्धनमा कसलाई कति सिट ? भन्ने तहमा प्रवेश भइसकेको छैन्,’ पौडेलले भने । नेकपा एमालेसँग निर्वाचनमा गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको उनले बताए । पौडेलले समाजवादी केन्द्र गठन गर्ने सम्भावना पनि नरहेको बताएका छन् । ‘गठबन्धनका बामपन्थीबीच समाजवादी केन्द्र बनाएर जाने कुरा ल्याइएको छ । तर मैले तत्काली समाजवादी केन्द्र हुन्छ भन्ने सोचेको छैन् । यतिबेला नेकपा माओवादी केन्द्र चुनावी रणनीतिमा होमिएको छ,’ पौडेलले भने ।

उनले माओवादी केन्द्र आगामी निर्वाचनबाट दोस्रो ठूलो दल हुने दावी गरे । मन्त्री पौडेलले क्यालेन्डर प्रणालीमा परीक्षा र रिजल्ट गर्ने प्रणालीको विकास गर्ने बताएका छन् । अब शिक्षालाई सीप र रोजगारसँग जोड्नु पर्ने बताए । आवश्यक विद्यालयमा आगामी तीन वर्षभित्र भौतिक पूर्वाधार पु¥याउने उनको प्रतिबद्धता छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*