प्रदेशमा ६२८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत

साझाकुरा
२०७९ श्रावण २७, शुक्रबार १०:०३

हेटौं-बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले नियमित सुचारु गर्नका लागि प्रदेश मन्त्रिपरिषद् बैठकबाट बागमती प्रदेशमा ६ सय २८ स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी स्वीकृत भएको हो । मन्त्रालयको प्रस्ताव अनुसार आर्थिक वर्ष ०७९÷८० का लागि स्वीकृत दरबन्दीमा मेडिकल अधिकृत, नर्स, फार्मेसी अधिकृत, ल्यावका जनशक्तिदेखि सवारी चालकसम्म छन् । मन्त्रिपरिषद्बाट स्वास्थ्य मन्त्रालयमा ६ जना, स्वास्थ्य निर्देशनालयमा १६ जना, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ३ जना, जनस्वास्थ्य प्रयोगशालामा १३ जना, स्वास्थ्य तालिम केन्द्रमा २ जना, आयुर्वेद औषधी उत्पादन केन्द्रमा १६ जनाको दरबन्दी स्वीकृत भएको छ ।

त्यस्तै, प्रदेश अस्पतालमा स्तरोन्नति भएका ५ सहित १३ अस्पतालका लागि ४ सय ६९, १३ वटा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका लागि ५४ जना र १३ वटा स्वास्थ्य कार्यालयमा ४९ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक तिवारीले जानकारी दिए । ‘स्विकृत दरबन्दीमा करारमार्फत् जनशक्ति परिपूर्ति भएपछि प्रदेशको स्वास्थ्य सेवा थप प्रभावकारी हुनेछ’, उनले भने । दरबन्दी स्वीकृत भएपछि स्वास्थ्य इकाईहरुमा स्वास्थ्य समस्याको पहिचान, परीक्षण, निदान, रोकथाम र नियन्त्रणको काममा टेवा पुग्ने उनको भनाइ छ ।

प्रदेश अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य इकाईहरुमा २०५० सालको भन्दा दुई तिहाई दरबन्दी घटेको जनाइएको छ । यो अवधिमा सेवाग्राहीको चाप भने स्वास्थ्य संस्थामा बढ्दो छ । ‘स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य इकाइहरुमा सेवा सुविधा, उपकरण, पूर्वाधार र क्षमताको विकास गरेको छ’, स्वास्थ्य मन्त्री निमा लामाले भने । ‘आवश्यकता अनुसार जनशक्ति व्यवस्थापनले सेवा प्रवाह थप प्रभावकारी हुनेछ’, उनले चालु आर्थिक बर्षका लागि स्वीकृत दरबन्दीबाट प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव केही हद्सम्म कम हुने र गुणस्तरीय सेवा प्रवाहमा मद्दत पुग्ने बताए ।

स्वीकृत दरबन्दी अनुसार पदपूर्तिको काम छिट्टै अघि बढ्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा सधैं नियमित र विपदका लागि तयारी अवस्थामा रहनुपर्ने भएकाले स्वीकृत दरबन्दीअनुसार पदपूर्तिलाई तीव्रता दिइने मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*