हेटौंडा सिमेन्ट सधैं घाटामा जानुको कारण के ?

हेटौंडा आएर रवि लामिछानेको प्रश्न
साझाकुरा
२०७९ श्रावण २८, शनिबार ०७:५२

हेटौंडा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नीजि उद्योग नाफामा जादा हेटौंडा सिमेन्ट सधैं घाटामा जानुको कारण सोधेका छन् । शुक्रबार हेटौंडामा भएको पार्टीको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले उद्योग, कलकारखाना नेताका कमिसन, कार्यकर्ता भर्तीका कारण बन्द हुन पुगेको भन्दै हेटौंडा सिमेन्ट उद्योग निरन्तर घाटामा गइरहदा निजी उद्योग कसरी नाफामा जान सक्यो भन्दै प्रश्न गरेका हुन् । उनले हेटौंडामै भएको निजि सिमिन्ट उद्योगहरु नाफामा जाँदा सरकारी उद्योग भने महिनामै करोडौ घाटामा जानुपर्ने कारणको खोजि गर्नुपर्ने र हिसाब गर्नुपर्ने बताए ।

विगत ४ वर्षदेखी हेटौंडा सिमेन्ट लगातार घाटामा गइरहेको बेलामा हेटौंडा आइपुगेका लामिछानेले नेताका कमिसन र कार्यकर्ता भर्तीका कारण सरकारी कलकारखाना बन्द हुन पुगेको बताए । लामिछानेले उद्योग कलकारकाखा बन्द गर्नेहरुका खाता खोलेर हिसाब निकाल्ने समय आएको टिप्पणी गरे । उनले राम्रो लुगा लगाउँछु भन्दा पनि बजारभरी खोज्दा पनि नपाईने स्थिति बनेको बताए । ‘हेटौंडा कपडा उद्योग जहाँ ११ सय भन्दा बढी मानिसहरुले रोजगारी गर्थे, तिनका परिवार आम्दानी गर्थे, परिवार चलेको थियो । आफुले बनाउनु त कहाँ हो कहाँ अर्काले बनाईदिएको उद्योग पनि चलाउन नसकेर बन्द गरिदिए । त्यसको हिसाब खोज्न म हेटौंडामा उभिएको छु’, लामिछानेले भने । जनताले सही नेतृत्व चयन गर्न सकियो भने अहिलेको समस्या समाधान गर्न सकिने उनको भनाइ थियो ।

उनले बागमती प्रदेशमा एउटै प्रदेशमा १८ जना मन्त्री के का लागि भन्दै प्रश्न समेत गरे । प्रदेशमा १८ सदस्यीय मन्त्रिपरिषद्लाई लक्षित गर्दै १८ जना साँढे किन चाहियो ? भन्दै उनले प्रश्न गरेका थिए । जनताले सही नेतृत्व चयन गर्न सकियो भने अहिलेको समस्या समाधान गर्न सकिने उल्लेख गर्दै लामिछानेले भने,’ त्यसका लागि हामी सरकारमा जानुपर्छ ।’ प्रहरीको अपराध अनुसन्धान गर्ने शाखा पनि सिसि क्यामेराको निगरानीमा हुनुपर्ने लामिछानेको माग छ । उनले नेपालमा प्रदेशको संरचना आवश्यक नै नभएको दावी समेत गरे ।

नेपालका कतिपय राजकीय पदको औचित्य नै नभएको बताए । लामिछानेले मुलुक चलाउने नेताले स्वाभिमान बेचेका कारण आफूहरु राजनीतिमा आएको स्पष्ट पारे । मुलुक चलाउन भिजन भन्दा मुटु चाहिने उनको दावी थियो । मुलुक चलाउन कुनै वादको जरुरी नहुने उल्लेख गर्दै लामिछानेले नेपालको विकासमा पर्यटनको विकास गर्नुपर्ने औंल्याए । अहिलेका राजनीतिकर्मीहरु दुतावासको एकछाक खाना र रक्सिमा बिकेका कारण आफू राजनीतिमा आउन बाध्य भएको लामिछानेको भनाइ थियो । उनले प्रदेश सरकार राजनीतिक दलका आफ्ना र कार्यकर्ता भर्ती केन्द्र मात्र भएको काम भने केहि अघि बढ्न नसकेको बताउँदै सोच्नु पर्ने अवस्था आएको बताए । उनले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताएर सरकारमा पु¥याउन अनुरोध समेत गरे ।

लामो समय पत्रकारिता गरेर राजनीतिमा होमिएका लामिछानेको आगामी निर्वाचन राजनीतिमा पहिलो परीक्षा हो । केहि समयअघि मात्रै स्वतन्त्र पार्टी स्थापना गरेका लामिछाने पछिल्लो समय देश दौडाहामा छन् । लामिछाने पत्रकारितामा धेरैले रुचाएका व्यक्ति भएपनि राजनीतिमा उनको भविष्य आगामी निर्वाचनले देखाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*