घट्न थाल्यो मकवानपुरबाट हुने निर्यात

साझाकुरा
२०७९ श्रावण ३०, सोमबार १०:५६

हेटौंडा- मकवानपुर नेपालको पूर्व पश्चिम जोड्ने जिल्ला हो । छिमेकी जिल्ला भारतको सिमा नजिकै रहेको मकवानपुरमा नेपालकै सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्र पनि छ । जिल्लाको उत्तरी क्षेत्र कृषिजन्य उत्पादनले भरिपूर्ण छ ।तर, पनि पछिल्लो समय मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार बर्सेनि घट्न थालेको छ । दुई दशकअघिसम्म वार्षिक करिब अर्ब रुपियाँको निर्यात हुने गरेकामा अहिले केही करोडमा मात्र सीमित हुन थालेको हो । बागमती प्रदेशको राजधानीसमेत पाएको मकवानपुरबाट हुने गरेको निर्यातमा पछिल्लो समय गिरावट आएको हो । एक दशकअघि आव २०६८÷६९ मा मकवानपुरबाट ६७ करोड ८२ लाख रुपियाँ बराबरको निर्यात व्यापार भएको थियो । त्यसबेला आव २०६७÷६८ मा २७ वटा उद्योगले निर्यात गरेकामा आव २०६८÷६९ मा निर्यात गर्ने उद्योगको संख्या बढेर ३१ पुगेको थियो ।
क्रसरजन्य वस्तुको भारत निकासीका कारण पनि त्यतिबेला निर्यात व्यापार बढेको थियो । क्रसरबाहेकका एन्ट्राटिक बिस्कुट उद्योग, नेपाल इकरात इन्जिनियरिङ कम्पनी, माछापुच्छ्रे हर्बललगायतका नौवटा उद्योगले निर्यात गर्दै आएका थिए ।

२०४८ मा तत्कालीन सरकारले लिकको खुला तथा उदार अर्थनीतिका कारण हेटौँडा औद्योगिक क्षेत्रभित्र र बाहिर राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी स्थापना भएका थिए ।
निर्यातमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका कोडाक र कोल्गेट नेपाल छाडेर गइसकेका छन् भने युनिलिभर नेपाल लिमिटेडले निर्यात गर्न छाडेको छ । कोल्गेटका सबैजसो र युनिलिभरका कतिपय उत्पादन आयात हुने गरेको छ । कोल्गेट, युनिलिभरलगायतका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीले निर्यात गर्दै आएको मकवानपुरबाट दुई दशकअघि आव २०५७÷५८ मा दुई अर्ब २९ करोड रुपियाँ बराबरको निर्यात व्यापार भएको थियो । तर, गत आव २०७८÷७९ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले १७ करोड ३० लाख रुपियाँको निर्यात गरेको छ ।

त्यसअघि आव २०७७÷७८ मा मकवानपुरबाट २३ करोड ६२ लाख रुपियाँको निर्यात भएको थियो । मकवानपुर उद्योग वाणिज्य संघको अनुसार आव २०७६÷७७ मा भने मकवानपुरबाट २५ करोड ५७ लाख रुपियाँको निर्यात भएको थियो । उक्त वर्ष क्लोजर सिस्टम इन्टरनेशनल (नेपाल), युनिलिभर नेपाल लिमिटेड, गोदावरी पोलिप्याक्स एन्ड एफआईवीसी र इभान्स लाइफ साइन्सेसले आफ्नो उत्पादन भारत निकासी गरेका थिए ।

आव २०७७÷७८ मा भने युनिलिभर नेपाल लिमिटेडबाहेकका उद्योगबाट उत्पादन भारत निकासी भएको थियो । त्यसमध्ये एउटा व्यापारिक प्रतिष्ठान र चारवटा उद्योगले भारत र तेस्रो मुलुकमा खाद्य पदार्थसहित औद्योगिक उत्पादन निर्यात गरेको सङ्घको तथ्यांकमा उल्लेख छ । गत आवमा भने प्याक्ट ग्रुप क्लोजर सिस्टम इन्टरनेशनलले बोतलमा लाग्ने बिर्को, गोदावरी पोलिप्याक्स एन्ड एफआईवीसीले त्रिपाल र इभान्स लाइफ साइन्सेसले लोठसल्लाको पाउडर भारत निकासी गरेको संघले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै गुराँस ग्रुप इन्टरनेसनलले चाउचाउ, चिउरा, खुर्सानीलगायतका नेपाली उत्पादन अस्ट्रेलियामा र एडभान्स टेक्नोलोजी एन्ड मेसिन नेपालले फोहोर प्रशोधन गर्ने उपकरण जापान निर्यात गरेको संघले जनाएको छ । संघका अध्यक्ष कृष्णकुमार गुप्ताले निर्यात घट्दै जानुमा सरकारको निर्यात नीतिको असर रहेको बताए । लगानीमैत्री वातावरणसँगै निर्यातजन्य उद्योगलाई प्रोत्साहित गर्ने नीति भएमा मात्र निकासी बढ्ने गुप्ताको भनाइ छ । निर्यात व्यापारमा ह्रास आएसँगै नेपालको भारतसँगको व्यापार घाटा पनि बढ्दै गएको छ ।पछिल्लो एक वर्षयता हेर्ने हो भने नेपाल भारतसँग चरम व्यापार घाटामा छ । अन्य मुलुकसँग पनि निर्यात घट्दै गएको छ भने आयातको दर दिनप्रतिदिन बढ्दै गएको छ । नेपालबाट हुने निर्यात निरन्तर घट्दै जानु र आयात बढ्दै जानुले देशको अर्थतन्त्रलाई नै कमजोर बनाउदै लगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*