कांग्रेसले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन चाहेनः रिमाल

साझाकुरा
२०७९ भाद्र १, बुधबार ०८:३२

हेटौंडा- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मुलुकलाई ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन नचाहेको आरोप लगाएका छन् । मदन भण्डारी फाउण्डेसन मकवानपुरको आयोजनामा मंगलबार हेटौंडामा भएको सामाजिक, आर्थिक रुपान्तरणमा जबज र मदन भण्डारी बिषयक बिचार गोष्ठीलाई सम्बोधन गर्दै रिमालले एमालेले मुलुकमा ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान चलाएपनि कांग्रेसले त्यसलाई नचाहेको बताएका हुन् ।
समाजवादको अन्तिम भनेकै समृद्ध नेपाल सुखी नेपाली रहेको उनको भनाई छ । उनले मुलुकलाई समृद्ध बनाउने र नेपालीलाई सुशी राख्ने अभिप्रायले एमाले काम गरिरहेको भएपनि कांग्रेस कमिशन र भ्रष्टाचारमै रुमलिएको आरोप लगाएका छन् । रिमालले वर्तमान सरकार कमिसन तन्त्रमा चलेको आरोप लगाए ।

न्यायाधीश नियुक्त गर्दा पनि सरकारले घुस लिने गरेको आरोप उनले लगाए । ‘जिल्ला न्यायाधीश नियुक्त गर्दा र सर्वोच्चको न्यायाधीश नियुक्ती गर्न रेट नै तोकेर घुसको बार्गेनिङ भएको सुनिएको छ । सरकार कमिशन र भ्रष्टाचारमा डुबेको छ ।,’ आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गठवन्धनले जितेमा मुलुकमा प्रतिगमन हुने उनको दाबी थियो । कानून निर्माण गर्ने काम व्यवस्थापिकाको रहेतापनि सरकारको अहिले कुनै काम नभएको बताए । समानुपातिक सांसदमा एक जनालाई एक पटक मात्र अबसर दिनुपर्ने उनको भनाई छ ।

नेता रिमालले कर्मचारीतन्त्र माथि पनि कटाक्ष गरे । अहिलेको कर्मचारीतन्त्र नसुध्रिँदा थप समस्या भएको उपमहासचिव रिमालले बताए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर राना, एमाले बागमती प्रदेश कमिटीका उपसचिव महेशकुमार बर्तौला, एमाले प्रदेश कमिटीका संगठन विभाग प्रमुख अनन्त पौडेललगायतकाले मन्तव्यक्त व्यक्त गरेका थिए ।मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष तथा एमाले प्रदेश कमिटीका सदस्य रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डाक्टर शंकर प्रसाद उपाध्यायको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*