नदीले धार फेरिरहँदा सिंचाईमा कठिनाई

साझाकुरा
२०७९ भाद्र ४, शनिबार ०७:४३

हेटौंडा देशका अधिकांश सिंचाई योजना नदी, खोला, खहरेमा बग्ने पानीका आधारमा निर्माण हुन्छन् । पानीको स्रोतलाई आधार बनाएर सिंचाई योजना बनाउने गरिन्छ ।
त्यस्तै, मकवानपुरको पूर्वी क्षेत्रमा बागमती नदी बग्छ । त्यही बागमती नदीमा बग्ने पानीको आधारमा बागमती गाउँपालिकाको १ नम्बर वडामा करिब सवा २ सय विगाह क्षेत्रफलमा फैलिएको फाँटमा खेती गर्न सिंचाई योजना निर्माण गरिएको छ ।उक्त सिंचाई योजना करिब २०५०–०५२ सालमा निर्माण भएको हो । तर, हालसम्म आइपुग्दा सिंचाई योजनाको मुख्य मुहान तीन पटक परिर्वतन भएको पाइएको छ । ठूलो क्षेत्रफलमा फैलिएको बागमती नदीले बेलाबखत धार परिवर्तन गर्दा १ नम्बर वडाका किसानलाई सिंचाई गर्न कठिनाई भएको पाइएको छ ।

राईगाउँ सिंचाई योजनाअन्तर्गत् करिब २ सय २० विगाह क्षेत्रफलमा खेती हुँदै आएको छ । बागमती गाउँपालिका धान र मकै उत्पादनका लागि आत्मनिर्भर स्थानीय तह हो ।
तर, नदीले धार परिवर्तन गर्दा कुलोमा पानी आपूर्ति नहुने भएपछि सिंचाई गर्न समस्या हुने गरेको पाइएको हो । स्थानीयहरुले सिंचाई कुलोबाट पानी नआउँदा गत असारमा रोपाई गर्न समस्या भएको गुनासो गरेका छन् । उनीहरुले गाउँमा कुलो हुँदाहुँदै मोटरबाट पानी तानेर खेती गर्नुपरेको भन्दै साझाकुरालाई समस्या सुनाएका थिए ।
योजना कार्यान्वयन गरिरहेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मकवानपुरले बागमती नदीले धार परिवर्तन गर्दा कुलोमा पानी प्रवाह हुन नसकेको जानकारी दिएको छ ।

कार्यालयका प्रमुख राजेश पौडेलले किसानहरुलाई कहिल्यै अप्ठरो पर्न नदिने उद्देश्यले काम गरिरहेपनि प्राकृतिक कारणले समस्या आउँदा केही गर्न नसकिएको बताए । ‘अघिल्लो वर्ष सिंचाईबाट पानी बगेको थियो । हामीले धेरै मिहेनत गरेर काम गरेका छौं । तर, वारीबाट बगेको खोला नै पारी पुग्छ भने हाम्रो के दोष ?,’ पौडेलले भने । डिभिजन प्रमुख पौडेलका अनुसार राईगाउँ सिंचाई योजना कार्यालयको सबैभन्दा महत्वको योजना रहेको छ ।ठूलो क्षेत्रफलमा फैलिएको खेतीयोग्य जग्गाको संवेदनशीलतालाई बुझेर कार्यालयले राईगाउँ सिंचाई योजनालाई प्राथमिकताको योजनामा राखेर काम गरिरहेको पौडेल बताउँछन् । जिल्लामा सिंचाईका धेरै योजना छन, तर राईगाउँ सिंचाई योजना विशेष महत्वको हो । यस योजनासँग धेरै किसानको जीवन जोडिएकोले कार्यालयबाट प्राथमिकतामा काम भइरहेको उनले बताए ।

राईगाउँ सिंचाई बहुवर्षीय आयोजना भएकोले कार्यालय हरेक वर्ष कुलो निर्माणको कामसमेत गरेको छ । करिब ८ किलोमिटर क्षेत्रफलमा कुलो निर्माण कार्य भइरहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर श्रीधर पराजुलीले जानकारी दिए ।बागमती नदीको धार परिवर्तन हुँदा हालसम्म तीन पटक मुहान परिवर्तन भइसकेको छ । ०५०÷०५२ सालमा पहिलो पटक मुहान निर्माण भएको थियो । त्यसपछि बागमती नदीको धार परिवर्तन भएपछि मुख्य मुहानबाट करिब ५ सय मिटरको दुरीमा २०६५ सालमा दोस्रो पटक मुहान बनाइएको कार्यालयले जनाएको छ ।

कार्यालयले तेस्रो पटक मुख्य मुहानबाट करिब १ हजार ८ सय मिटरको दुरीमा आव २०७६÷०७७ मा अर्को मुहान निर्माण गरेको थियो । हाल बागमती नदीमा पुल निर्माण भएपछि नदीको धार नै परिवर्तन भएको छ । पुल निर्माणका क्रममा नदी रोक्न वाल उठाएपछि धार परिवर्तन भएर मुहान भन्दा पर धकेलिएको डिभिजन प्रमुख पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*