चेपाड्ड, वनकरिया र गाडी बोक्नेहरुको ‘छेलिएका अनुहार’ पढ्नु भयो त ?

रमेश प्रसाद लामिछान
२०७९ भाद्र ५, आईतवार ०९:३०

१. निश्चय नै, खास भूगोल र त्यहाँका बासिन्दा अनि उनीहरुको उद्भव, विकास र सभ्यताका बारेमा कलम चलाउनु सामान्य भन्न सकिन्न । किनकि यो काल्पनिक र सौन्दर्य साहित्य अन्तर्गत पर्दैन । खास वर्ग तथा समुदायका बारेमा उजागर गर्ने कार्यका लागि कठोर श्रम मात्र हैन, तथ्यहरुको संकलन अनि धैर्यता र लगनशीलताका साथ वर्षौं सम्म खोज र अनुसन्धानमा निरन्तर खट्नै पर्दछ । यस्ता विषय मानव शास्त्र र समाजशास्त्र संग जोडिएको हुनाले तथ्यपरक स्रोतहरुको जरुरत पर्छ नै । विश्वका कुनैपनि कुनामा बसोबास गर्ने खास समुदायका मानव जातिका बारेमा किताब लेख्नेहरुलाई कवि वा साहित्यकार भन्दा पनि खोजकर्ता तथा अनुसन्धानकर्ता भन्दा न्याय हुन्छ भन्ने मेरो नीजि धारणा हो । प्रस्तुत किताब ‘छेलिएका अनुहार’ शिर्षक संगको साहित्य भन्दा पनि विषयवस्तुका सबालमा यो आलेख केन्द्रित छ । शिर्षक स्वभाविक भन्नै पर्दछ । अरु शिर्षक हुनै नसक्ने भन्नेचाँही होईन । सबैले स्विकार गर्नैपर्ने पक्ष भनेको चेपाड्ड तथा वनकरियाहरु अनि कुनै कालखण्डमा गाडी बोक्नेहरु ओझेलमा परेकै हुन्, छेलिएकै अनुहार हुन्, यस्मा कतै बिमति छैन ।

२. चेपाड्ड र वनकरियाका बारेमा कुनै किताब लेख्नै पर्ने ब्यक्ति प्रताप विष्ट नै हुनुपथ्र्यो, यो मेरो जिकिरको पक्ष हो । विकल्पमा, चेपाड्ड समुदायकै उत्थानका लागि २०३५सालमा गठित प्रजा विकास कार्यक्रमका तत्कालिन अधिकृत तुलसी थापा सर, जस्ले दशक वर्ष सम्म चेपाड्डहरुको बिचमा बिताउनु भयो, उहाँ हकदार हुन सक्नुहुन्थ्यो । एकाध महिना वा वर्ष लगाएर यस प्रकृतिको किताब तयार हुनै सक्दैन । कान्तिपुर दैनिकका पाठकले प्रताप विष्टको नाम देख्ने सुन्ने बित्तिकै कान्तिपुरका चिरपरिचित पत्रकार, जो तिन दशक देखि क्रियाशिल वरिष्ठ पत्रकार हाल नेपाल पत्रकार संघ वागमती प्रदेशका अध्यक्ष र विशेष गरि चेपाड्ड र वनकरियाका भाग्य विधाता भनेर भिन्न पहिचान बनेको ब्यक्तित्वका रुपमा जान्दछन् ।

छेलिएका अनुहारको पछि लाग्ने कामको निरन्तरता वरिष्ठ पत्रकार प्रताप दाईले एकाध महिना वा वर्ष मात्र हैन, तिन दशक वर्ष निरन्तर चेपाड्डहरुका विविध विषयमा खोज अनुसन्धान सहित सहयोग गर्दै गराउँदै लागिपर्ने काम ठट्टा मान्न सकिन्न । यो खोज कार्यमा प्रताप दाईको समय र श्रमको मात्र लगानी हैन आवश्यकताले आर्थिक लगानी पनि उत्तिकै गराएको बुझेको छु । अन्यत्र भए राम्रो आर्जन हुने अनि पैसा पर्याप्त भएपछि पद र मान बढ्ने संगै देशबिदेशमा चर्चित बन्ने सहज बाटोमा लेखक हिंडेको भए आज यो किताब बाहिर आउने थिएन मात्र हैन चेपाड्ड, वनकरिया र गाडी बोक्नेहरु अझै कैयौं वर्ष छेलिने अर्थात इतिहसकै गर्भमा हराईरहने तथ्यमा शंका छैन ।

३. त्रेतायुगका रामायणकालिन अयोध्याका तत्कालिन राजा रामचन्द्रका छोरा लवका सन्तान चेपाड्ड र कुशका सन्तान कुसुण्डा भनिएता पनि विश्वसनिय आधार र प्रमाणको अभावमा पत्याउन सकिन्न् । प्रचलित पछिल्ला किम्वदन्तीमा यी जातिका उत्पत्तिका आधारहरु तुलनात्मक रुपमा तथ्य नजिक छन् भन्न सकिन्छ । मातृसत्तात्मक अभ्यासबाट विकसित बनिरहेका चेपाड्ड र वनकरिया नेपालमा विद्यमान भनिएका १२५ जाति मध्ये यी अल्पसंख्यक समूहमा पर्दछन् । नेपालका प्रमुख ३ जाति मध्ये यस भूमीमा आदिकाल देखि बसोबास गर्दै आएका मौलिक जातिका दोश्रो सामान्य उपजातिमा चेपाड्ड र कुसुण्डालाई पनि समावेश गरिएको उल्लेख गरिएको छ ।

चितवन, गोरखा र मकवानपुरका अति विकट जंगल तथा अग्ला पहाडी भागका ओडारमा बस्ने चिम्सो आँखा, थेप्चो नाक र चेप्टो अनुहार भएका चेपाड्डहरुको हालको जनसंख्या करिब एक लाख मध्ये चेपाड्ड भाषा बोल्ने करिब ३४ प्रतिशत अनि साक्षर ६ प्रतिशत छन् भएिको छ । चेपाड्डलाई २०३५ साल देखि प्रजा भनिदैं आएपनि २०५३ सालमा गठित नेपाल चेपाड्ड संघले २०५४ सालदेखि चेपाड्ड नै भन्न लेख्न थालिएको भनेको छ । प्रस्तुत किताबमा उल्लेख गरिएका बृद्ध जयपति चेपाड्डले राजा अर्थात सरकारलाई ऋण लागेकाले मर्ने बेलामा मैले बृद्ध भत्ता लिनु हुँदैन र बृद्धा दमिमाया चेपाड्डले सरकारको ऋण खाएर मरेमा सन्तानले दुःख पाउँछन् भन्दै बृद्ध भत्ता फिर्ता गरेको घटना अत्यन्त मार्मिक मात्र नभै चेपाड्डहरुको राष्ट्रप्रतिको प्रेम र भाव अनि ब्यवहार बुझ्न दरो उदाहरण हो भन्दा अत्युक्ति नहोला ।

४. प्रस्तुत किताबमा लेखक प्रताप विष्ट स्वयंले २०५० असोज १६ गते देखि २०७८ पुस १० गते सम्मका विभिन्न मितिमा राष्ट्रिय दैनिक कान्तिपुर पत्रिकामा लेखेका चेपाड्ड र वनकरिया अनि राणाकालमा भिमफेदी देखि काठमाडौं सम्म गाडी बोकेर लैजानेहरुको खोजमूलक विवरण सहितका समाचारहरु समावेश गरिएको छ । झट्ट हेर्दा पत्याउन कठिन लाग्ने काल्पनिक जस्तो बुझिने तर खोजमूलक तथ्यपरक यो सामाजिक विषयले राष्ट्रिय महत्व राख्ने कुरामा शंका छैन । इतिहासमा चेपाड्ड जाति नामको शिर्षकबाट शुरु भएको यो किताबको थालनिमै यो जातिको उत्पत्ति, बासस्थान, ब्यवसाय, जीवनशैली, शिक्षा र अन्य विविध सामाजिक पहिचानका उदाहरण जस्तो चिउरीको बोट र चमेरो संगका सम्वन्धहरुको उजागर गरिएको छ ।

चेपाड्ड जीवन ः पीडाको दस्तावेज अन्तर्गत ४६ वटा शिर्षकहरुमा यो जातिको समग्र ब्यक्तिगत, सामाजिक र संस्कारजन्य पक्षहरु उल्लेख गरिएका छन् । ती शिर्षकहरु चेपाड्डलाई बुझ्न खोज्नेहरुका लागि पर्याप्त छन् भन्न सकिन्छ । प्रस्तुत किताबका उपशिर्षकहरु जस्ताको तस्तै (दर्दनाक जीवनबाट मुक्त भएका छैनन् चेपाड्ड जाति, सिस्नोको फाँडोमा चेपाड्डको जिन्दगी, अझै चार ईन्चको लगौंटीमा प्रजा, ओडारमा नाड्डै बालकहरु, प्रजाहरु अझै महाभारतको ओडारमा, खाद्यान्न अभावले गिट्ठा खोज्न जंगलमा बास, दुई सन्तान ईश्वरका वरदान भन्ने नाराले अझै छुन सकेन चेपाड्डलाई, दश रुपैयाँमा प्रतिकेजी गिट्ठा र भ्याकुर, दुर्गम गाउँका चेपाड्डलाई दशैंले छुन सकेको छैन, छिमेकीहरुको भरमा प्राण धान्दै, चेपाड्ड महिला विवाह गरेपछि पुरुष पनि चेपाड्ड हुने, चेपाड्डका छोरीज्वाईंलाई दशैंमा चिउरीका बिरुवा, गिट्ठा भ्याकुर बोकेर चेपाड्ड आन्दोलनमा, चेपाड्ड बस्तीमा भोकमरी, चोयाले नाभी काट्दा शिशुको मृत्यु, चिउरीको घिउले दशै मान्छन् चेपाड्डहरु, सामुदायिक र कबुलियती वनले चेपाड्डको उठिबास, दृष्टिबिहिन चेपाड्ड, पहिलो पटक गाडी चढ्न र शहर देख्न पाए, चेपाड्ड समुदायको संस्कृति, औंला झरिसके झाँक्रीकै भर, हात खुट्टाका औंला झरीसकेपछि औषधी सेवन, हजुरबा एक्लै ओडारमा, जयपतिलाई घर बन्ने, चेपाड्ड समुदायको ठूलो पर्व छोनाम, घटस्थापनाका दिन चेपाड्डले वनकेराको पात भित्र्याए , अगेनाकै डिलमा रात बित्छ चेपाड्ड परिवारको, हजुरबा ओडारबाट घर सरे, ९९ वर्षिय चेपाड्ड ओडार देखि घर सम्म, १७ दिनदेखि कन्दमुलको भर, दशैं तिहार कन्दमूलको भरमा, कालिकाटारका चेपाड्डको कहानी, घट्ट जोगाउँदै वृद्ध, घर भन्दा ओडार प्यार, टाँकी र गिट्ठाको भरमा, जयपती ओडारबाट फर्किए घरमा, पीडित चेपाड्डको बिजोग, १०५ वर्षिय जयपती चेपाड्डको मृत्यु, जिउँदो इतिहास जयपति, कन्दमूलमै चेपाड्ड दशैं, जाबी झोलाले गर्जो टार्दैछ चेपाड्डको, जंगली कन्दमूलमा नै अझै निर्भर चेपाड्ड समुदाय, पत्नी वियोगले गलायो, अझै कन्दमूलले प्राण धान्छन् चेपाड्ड, जहिल्यै लखेटिने त्रास तैपनि वनमै बास र बालभिटा खुवाउँदैनन् अभिभावक ।

५. चेपाड्ड ः शिक्षा, विकास र चेतना अन्तर्गत ३४ वटा शिर्षकहरु उल्लेख गरिएका छन् । यी भित्रका कुरा बुझ्न शिर्षकहरु नै पर्याप्त छन् भन्ने लाग्छ । यी पनि किताबबाट (चेपाड्ड बस्तीमा मावि संचालन गरिने, चेपाड्डहरुले चर्पी प्रयोग गर्न थाले, जंगली कन्दमूलको चिप्स उत्पादन गरिने, गिट्ठा भ्याकुर (क्यान्सर डायबिटिज र मुटुरोगीका निम्ति अत्यन्त उपयोगी, चेपाड्ड गाउँमा नेपाली नबुझ्ने तराईबासी शिक्षक, बर्मा गए पनि कर्म संगसंगै, खाद्य अभावले चेपाड्ड बालबालिका पढ्नबाट बञ्चित, चेपाड्ड भाषामा पहिलो वर्णमाला, चेपाड्ड सहकारीद्धारा मह प्रसोधन केन्द्र स्थापना, संग्रहालय स्थापना गर्न माग, शिक्षकको अभावमा वर्णमाला प्रयोग विहिन, चेपाड्ड उम्मेदवारको नाम सिफारिस गर्न दलहरुसंग माग, आफ्नो भाषामा कार्यक्रम संचालन गर्न चेपाड्डलाई रेडियो, चेपाड्डबाट सहायक सेनानी, चेपाड्डद्धारा यातायात ठप्प, चेपाड्ड संग्रहालय बन्ने, चेपाड्ड जाति अधिकार प्राप्तीको लडाईमा, चेपाड्डहरुलाई चर्पीमा दिसापिसाब गराउन दबाव, साक्षरता कक्षामा चेपाड्ड जातिको सहभागिता न्यून, स्थानिय खोलाको उत्पादनबाट चेपाड्ड गाउँ झिलिमिलि, निशुल्क पढ्न नपाएको विरोधमा, चेपाड्ड बस्तीमा छात्राबास, खानै नपाएपछि स्कूल छाडे, सौर्य उर्जा र पेल्ट्रिक सेटले फेरिदैं छ चेपाड्डको जीवनशैली, मौरी बचाउन खेतबारीमा विषादी छर्न रोक, खाजाले भर्नादर बढ्यो ड्रप आउट घट्यो, चेपाड्ड संग्रहालयको पुनर्निर्माण कार्य शुरु, दिवाखाजा खान पाएनन् चेपाड्ड विद्यार्थीले, प्रदेश सभामा एक चेपाड्ड, नाड्डो खुट्टामै स्कूल, छात्रावास छैन पिंढीमा बास, जस्का लागि स्कूल बनाईयो, उनैले पढ्न पाईनन् । दैनिक ६ घण्टा हिंडेर पढाई र चेपाड्ड छात्रछात्राको नियति ।

६. तीन च अर्थात चिउरी, चेपाड्ड र चमेरा वीचको अन्तर सम्वन्ध थाहा पाउनैपर्ने विषय भन्नै पर्दछ । विवाह गरेको चौथो वर्षमा छोरीको घर पक्का भो भनेर चिउरीको बोट दाईजो दिने प्रचलन अनि चिउरीका बिरुवा उत्पादनमा चमेराको योगदान महत्वपूर्ण पक्ष मानिन्छ । यस शिर्षकमा चिउरीको घिउ उत्पादन संगै मह संकलन समेतका ८ वटा शिर्षकहरु उल्लेख गरिएका छन् । सरकारका दृष्टिमा चेपाड्ड अर्को आकर्षक शिर्षक अन्तर्गत चेपाड्ड विकास कार्यक्रम प्रभावितबाट नागरिकता, चिउरीका लालपूर्जा, घरजग्गा हस्तान्तरण, बृद्धभत्ता अस्विकार र वीमा ब्यवस्था समेत गरी १७ वटा उपशिर्षकहरु ब्याख्या गरिएको छ । वालविवाह र महिलाका पीडा प्रस्तुत किताबको अर्को पढ्नैपर्ने शिर्षक रहेको छ । झाँक्रीले गर्भपतन गराउँदा मृत्यु देखि सर्कसका पीडा, १२ वर्षिय किशोरी आमा बन्दै, वालविवाह, समेत गरी १८ वटा उपशिर्षकमा पीडाजन्य घटना र संस्कारजन्य चित्रणले चेपाड्डका अवस्था बुझ्न सहज बनाएको छ । त्यस्तै विविध शिर्षकमा अपाड्ड चेपाड्ड, सहयोग जुटाउने प्रसंग, सगरमाथा आरोहणका सपना अनि रुपचन्द्र विष्टको सन्दर्भसंगै चेपाड्ड समुदायका पहिलो मन्त्रि सन्तबहादुर समेत ६ वटा उपशिर्षकहरु उल्लेख गरिएका छन् ।

७. यस किताबको अन्तिम तेश्रो खण्डमा वनकरियाका बारेमा २२ वटा शिर्षकहरुमा वनकरियाको इतिहास, चेतना, द्धन्द्ध, नागरिकता, भत्ता, गिट्ठाको माला, बस्तिमा बिजुली, तसकारी खेतीतर्फ, वालवालिका विद्यालयमा, जस्ता विवरणबाट वनकरिया जातिको उजागर गरि कठिन विषयवस्तुको जानकारी दिने प्रयत्न प्रशंशनीय भन्नै पर्दछ । किताबको अन्तिम दोश्रो खण्डमा ती जस्ले गाडी बोके नामक शिर्षकमा किन बोकियो गाडी, उहिले बोक्थे गाडी अहिले भारी, गाडी बोक्ने बुढा गोले र उनको निधन, इतिहास जस्ले गाडी बोके, रहेनन् गाडी बोक्ने जिउँदो इतिहास, अब एक्ला हिराबहादुर, समेत गरी ८ वटा उपशिर्षकहरुमा गाडी बोकेर गाडीका मोडेल अनुशार ८ देखि ३२ जनाको समूहले ७ देखि १६ दिन लगाएर भिमफेदी देखि काठमाण्डौ पुग्ने गरेको रोचक विवरण पढन् लागेपछि छोड्न मनै लाग्दैन ।

किताबको अन्तिम खण्डमा ५० वटा फोटाहरु समावेश गरिएका छन् । चिउरीका दाना कुट्ने, गिट्ठा ताछ्ने चेपाड्ड देखि संविधान सभासद २ चेपाड्ड, जयपति र दमीमाया, वागमती प्रदेश सभाका सदस्य चेपाड्ड, गर्भवती वालिका, विद्यार्थी, चिउरीका बोटका लालपूर्जा, घरका अवस्था, वालविवाह, पहिलोपटक भेटिएका वनकरिया र वस्ति, शिक्षा तथा रेडियो र सभामा वनकरिया, गाडी बोक्नेहरु हिराबहादुर बलामी, धनबहादुर गोले, जुक्त बहादुर वाइबा, हिराबहादुर मोक्तान, गाडी बोकेको तस्बिर जस्ता अति दुर्लभ फोटाहरु आफैंमा गहकिला ग्रन्थ बन्न सक्छन् ।

८. अन्तमा, प्रस्तुत किताबको विषय वस्तुको कोणबाट ४७२ पेजको मूल्य रु ६५०÷– स्वभाविक भन्नै पर्दछ । प्रकाशक सांग्रिला पुस्तक प्रा.लि.लाई धन्यवाद भनिएन भने अन्याय हुन सक्छ । सम्पादनको अभिभारा बहन गर्नुहुने निमेष निखिल सर स्वयम्मा चर्चित साहित्यकार एवम प्राध्यापक हुनुहुन्छ । शायद, पत्रिकामा प्रकाशित सामग्रीहरुको संगालो भएर होला कतिपय कुराहरु दोहोरिएका छन् ।लेखक स्वयमले यो आफ्नो मनको वर्षौंको हुटहुटीको परिणाम स्विकार्नु भएको छ । एकै वाक्यमा टिप्पणी गर्दा यो किताब पिछडिएका समुदाय चेपाड्ड, वनकरिया र गाडी बोक्नेहरुको तथ्यपरक विवरण भएकाले खोजकर्ता, अनुसन्धानकर्ता र अध्ययनशील ब्यक्तिहरुका लागि अत्यन्त उपयुक्त छ भन्दा अत्युक्ति हुने छैन । आगामी दिनमा, वरिष्ठ पत्रकार एवम् लेखक, दाजु प्रताप विष्टबाट प्रस्तुत किताबको विषय वस्तुमा यसपटक नअटाएका पक्षहरु संलग्न गरी थप सशक्तता सहितको दोश्रो संस्करणको शिघ्र अपेक्षा गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published.


*