सहकारीमा रकम हिनामिना प्रकरणः २ सय ३२ बचतकर्ताको उजुरी

साझाकुरा
२०७९ भाद्र ९, बिहीबार ०९:४९

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको २ नम्बर वडामा रहेको जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी लिमिटेडले लाखौं रकम हिनामिना गरेपछि २ सय ३२ जनाले उजुरी दिएका छन् ।बचतकर्ताको ४६ लाख भन्दा बढी बचत हिनामिना भएको घटनामा सहकारीका सञ्चालकहरु जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् । सहकारीको संचालक समितिका अध्यक्ष धादिङ फुलखर्क घर भई हेटौंडा–८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा–८ का ३२ वर्षीय राजीव तामाङ हालसम्म पनि प्रहरी हिरासतमै छन् । अधिकारी र तामाङलाई दर्जनौं बचतकर्ताहरुले सहकारीको पासबुकसहित १ भदौमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । बुधवारसम्म उनीहरुविरुद्ध उजुरी गर्ने २ सय ३२ पुगेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार हालसम्म २ सय ३२ जनाले उजुरी दिइसकेको र आगामी दिनमा उजुरी दिनेको संख्या बढ्ने देखिएको छ । पीडितहरुका अनुसार उजुरी दिनेको संख्या ५ सय जना पुग्ने जनाइएको छ । सहकारीमा बचतकर्ताले जम्मा गरेको ४६ लाख बढी रकम हिनामिना भएको घटना भने पुरानै हो । उक्त घटना यसअघि नै जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो । प्रहरी कार्यालयमा सहकारी सञ्चालक अधिकारी र तामाङले पीडितहरुसँग निश्चित समय तोकेर रकम उपलब्ध गराउने सहमति गर्दै चेक दिएका थिए । तर, तोकिएको समयमा पैसा फिर्ता नगरेपछि पीडितहरु प्रहरीकोमा पुगेका हुन् ।

सहकारीका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङले प्रहरीको रोहबरमा पीडितहरुलाई तीन महिनाभित्र हिनामिना भएको रकम फिर्ता गर्ने गरी २०७९ जेठको दोस्रो हप्तामा सहमति गरेका थिए । पीडितहरुले बचत रकम सबै फिर्ता मागेपछि अधिकारी र तामाङले पीडितहरुले तीन महिनाभित्र ७२ लाख रुपैयाँ फिर्ता गर्नेगरी सहमति गरेका थिए । हिनामिना भएको ४६ लाख र ऋण लगानी भइसकेको सर्वसाधारणको बचत रकम गरेर ७२ लाख फिर्ता गर्ने सहमतिमा जनाइएको थियो । सहकारीको हेटौंडा–१२, पदमपोखरीमा रहेको १ कठ्ठा जग्गा र दुईतले घर बिक्री गरेर पीडितको रकम तिर्ने अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङले सहमति गरेपनि हालसम्म रकम नतिरेका हुन् । हेटौंडा–१, चौकीटोल गैरीगाउँका सुनिल बानियाँले २०७८ मंसिरमा जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारीमा १२ लाखको मुद्दती बचत गरेका थिए ।

सहकारीले नै तीन महिनालाई मुद्दती राख्न पाउने बताएपछि उनले १२ लाख रुपैयाँ लगेर बचत गरेको साझाकुरालाई यसअघि नै जानकारी गराएका हुन् । तीन महिनापछि मुद्दतीको रकम लिन सहकारी पुग्दा भने उनी छाँगाबाट खसेझैँ भए । सहकारीले उक्त समयमा पैसा फिर्ता नगरी बैंकबाट १ करोड ऋण पास हुन लागेको भनेर उनलाई फर्काएको थियो । १२ लाख रुपैयाँ मुद्दतीमा राखेर थप पैसा व्यापारमै लगानी गर्ने योजना बनाएका बानियाँलाई सहकारीले डुबाएको थियो ।

सहकारी संस्थामा करिब ८ सय जना बचतकर्ताको २–४ हजारदेखि लाखौँ रुपैयाँसम्म मुद्दतीमा राखिएको रकम हिनामिना भएको पीडितहरुको भनाइ छ । छोरीको करिब २८ हजार बचत पनि सहकारीले हिनामिना गरेको भन्दै १ नम्बर वडाकी सरस्वती भ्लोन प्रहरीकोमा पुगेकी छन् । सरस्वतीजस्ता ज्याला मजदुरी गर्ने र गृहिणी सयौं महिलाको बचत रकम सहकारीले हिनामिना गरेको आरोप छ । सहकारीले आर्थिक अपचलन गरेको करिब दुई वर्ष हुन लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*