सरकारले प्याज र लसुनमा प्रतिकिलो एक रुपैंया अनुदान दिन्छ ः मुख्यमन्त्री
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रदेश सरकारले किसानलाई प्याज र लसुनमा प्रतिकिलो एक रुपैंया अनुदान दिने बताएका छन् ।खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन सम्बन्धमा बागमती प्रदेशका नीति निर्मातासंग अन्तरसंवाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
उनले प्रदेश सरकारले किसानलाई प्याज र लसुनमा प्रतिकिलो एक रुपैंया अनुदान दिने र आवश्यक परे बढाउँदै जाने उनले बताए । पाण्डेले कृषि र पशुपन्छी क्षेत्रको विकासका लागि अध्यादेशबाट भएपनि कृषि सम्बन्धी कानून चाँडै ल्याउने बताए । प्रदेश विज्ञान प्रविधी विश्वविद्यालय स्थापना गर्न बजेट विनियोजन गरिसकेको भन्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले १० हजार युवालाई क्लोज क्याम्पमा राखेर दक्ष जनशक्ति उत्पादन गर्ने समेत बताए ।
अघिल्लो एमाले सरकारको पालामा कृषि क्षेत्रमा चरम भ्रष्ट्राचार भएको भन्दै उनले तिव्र असन्तुष्टी जनाए । ‘अघिल्लो सरकारको पालामा ३० लाख रुपैंया बजेट विनियोजन गर्दा रहेछन्,’ उनले भने, ‘१० लाख मन्त्रीको टेवलमा, १० लाख व्यवस्थापन (विचौलिया)लाई र मात्र १० लाख किसानलाई दिने गरिएको रहेछ ।’ उनले कृषि औजार कारखाना हेटौंडामा खोल्ने तयारी भईरहेको समेत बताए ।आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले कृषि तथा पशुपन्क्षी क्षेत्रको विकासका लागि व्यवहारिक कानून तर्जुमा गर्न आफुहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । फियान नेपालको आयोजना तथा बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयसँगको समन्वयमा कार्यक्रम भएको हो । फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले कार्यक्रमको उदेश्यसहित स्वागत गरेको कार्यक्रममा फियानको श्रव्यदृष्य (डकुमेन्ट्री)पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा प्रदेशका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको मस्यौदा मुख्यमन्त्री पाण्डे र कृषि तथा पशुपन्क्षी विकास मन्त्री हुमागाईलाई फियान नेपालले हस्तान्तरण गरेको थियो ।कार्यक्रममा फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहले खाद्य सुरक्षा, खाद्य अधिकार र खाद्य संप्रभुता सम्बन्धी अवधारणागत जानकारी, अधिवक्ता तिलक अधिकारीले खाद्य अधिकार तथा खाद्य संप्रभुता सम्बन्धी ऐन २०७५ र कार्यान्वयनमा प्रदेश सरकारको भूमिका र कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत झलकनाथ कडेलले बागमती प्रदेशमा खाद्य सुरक्षाको अवस्था, प्रदेश सरकारले अवलम्बन गरेका नीति, कार्यक्रम र कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कृषि तथा पशुपन्क्षी विकास मन्त्री बसुन्धरा हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा फियान नेपालकी प्रदेश संयोजक लक्ष्मी गुरुङले सहजिकरण गरेकी थिईन् ।
कार्यक्रममा बागमती प्रदेशका सांसदहरु नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, नेकपा एकीकृत समाजवादीकी मनु सिग्देल, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछाने, राष्ट्रिय कृषक समूह महासंघ मकवानपुरका अध्यक्ष महानन्द सापकोटा, जिल्ला खाद्य अधिकार संजाल मकवानपुरकी सदस्य उर्मिला पुलामी मगरले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका बक्ताहरुले कृषि र पशुपन्छीको क्षेत्रमा बजेट बढाउँनुपर्ने, प्रदेश सरकारले सबै जिल्लामा कृषि विकास कार्यालय स्थापना र संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।