मकवानपुरमा ‘जनताको साथमा कांग्रेस’ अभियानको तयारी तीव्र

साझाकुरा
२०७९ भाद्र १०, शुक्रबार ०९:३०

हेटौंडा-नेपाली काँग्रेस मकवानपुरले ‘जनताको साथमा कांग्रेस’ अभियानको तयारी तीव्र पारेको छ ।आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले देशव्यापीरुपमा गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियानको तयारी मकवानपुरमा पनि तीव्र पारिएको हो । अभियानको तयारीबारे बुझ्न विहिबार पार्टीले खटाएका केन्द्रिय प्रतिनिधि उमेश श्रेष्ठ हेटौंडा आइपुगेका छन् । हेटौंडा आएर नेता श्रेष्ठले कांग्रेसको पहिलो चुनावी अभियानको तयारीको विषयमा छलफल गरेको नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।

उनले कांग्रेस मकवानपुरले भदौ १२ गतेदेखि पहिलो चरणको चुनावी अभियान सुरु गर्ने बताए । भदौ १२ गते पहिलो चरणमा मकवानपुरको १०२ वटै वडामा कांग्रेसको विगतदेखि वर्तमानको समीक्षा गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । भदौ १५ गते पालिकास्तरीय कार्यक्रम गरिने उनले बताए । प्रवक्ता चौलागाईंका अनुसार कांग्रेस मकवानपुरले भदौ १६ गते कांग्रेस नेता प्रदीप गिरीको १३ औं पुण्यतिथिमा शोकसभा गर्ने, १८ गते संघीय क्षेत्रमा अन्तक्र्रिया गर्ने र २४ गते विपि जयन्तीको अवसरमा पहिलो चरणको चुनावी अभियान कार्यक्रम समापन गर्ने तयारी गरेको छ ।

यसअघि कांग्रेसले भदौ २० गते पार्टीको भातृ सस्ंथाहरुको जिल्लास्तरीय कार्यक्रम गर्ने योजना पनि बनाएको बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापीरूपमा अभियान सञ्चालन गर्न लागेको हो । अभियान तीन चरणमा सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*