चुनाव नलड्ने पूर्वमुख्यमन्त्री पौडेलको घोषणा

साझाकुरा
२०७९ भाद्र ११, शनिबार १०:४२

हेटौंडा(रासस) -बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश निर्वाचनमा आफ्नो उम्मेदवारी नरहने बताएका छन् । उनले अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेकाले आफूले दोस्रो पुस्तालाई समर्थन गर्ने बताए । उनले अहिले देशले साँच्चै नै परिवर्तन खोजेको उल्लेख गर्दै अब नयाँ पुस्तालाई उम्मेदवार बनाउनु र जिताउनु नै आफ्नो मुख्य जिम्मेवारी हुने उल्लेख गरे । सधैँ हामीमात्रै नेतृत्वमा जानुपर्छ र अरुले गर्नै सक्दैनन् भन्ने मनोविज्ञान त्याग्नुपर्ने बेला आएकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने बेला आएको उनको भनाइ थियो ।

राजनीति लहड, रहर र दबाब मात्रैले नचल्ने भन्दै उनले दोस्रो पुस्तामात्रै हैन अहिले नाति पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेको उल्लेख गरे । पौडेल बागमती प्रदेशसभाका कूल सदस्यमध्ये सबैभन्दा ज्येष्ठ सदस्य हुन् । उनले मुख्यमन्त्री हुनुअघि ज्येष्ठ सदस्यका आधारमा सभामुख बनेर पहिलो प्रदेशसभा बैठक चलाएका पनि थिए । पौडेल उमेरले ७६ वर्ष पुगिसकेका छन् । पौडेल राजनीतिमा लाग्नुअघि माध्यमिक तहको शिक्षक थिए । शिक्षण पेशा छोडेर राजनीतिमा होमिएका पौडेल २०४९ सालमा हेटौँडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

यसैबीच पूर्वमुख्यमन्त्री पौडेलले शुक्रबार एक सन्देश जारी गर्दै मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा आफू कुनैपनि तहमा उम्मेदवार नहुने घोषणा गरेका छन् । ‘अहिलेको समाजले विगतमा परीक्षण भइसकेका जनप्रतिनिधिको सट्टामा नयाँ अनुहार खोजेको यथार्थलाई हामीले अनदेखा वा नजरअन्दाज गर्न मिल्दैमिल्दैन, त्यसैले आगामी निर्वाचनमा मेरो उम्मेदवारी हुनुपर्छ भन्ने तमाम मेरो शुभचिन्तक, नागरिक समाज, युवा विद्यार्थी तथा पत्रकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी निर्वाचनमा मेरो कुनै पनि क्षेत्रबाट उम्मेदवारी नरहने जानकारी गराउँदछु’, उनीद्वारा जारी सन्देशमा उल्लेख छ ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी निर्वाचनका सम्भावित उम्मेदवारका बारेमा चर्चा परिचर्चा पनि सुरु भइसकेको उनले उल्लेख गरेका छन् । उनले नेकपा (एमाले)लाई विजयी गराउन लागिपर्ने सन्देशमा भनेका छन् । परिवर्तनका लागि सारा देश जागेको बेला परिवर्तनको संवाहक नेकपा एमालेलाई चौतर्फी घेराबन्दी गरी नामेट बनाउने प्रयासमा देशी तथा विदेशी शक्तिहरु एकजुट भएर लागि परेको पनि पौडेलले आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*