मकवानपुरको प्रदेश १ (ख)मा कांग्रेसबाट १० जना आकांक्षीको नाम सिफारिस

साझाकुरा
२०७९ भाद्र १३, सोमबार १३:०६

हेटौंडा, १३ भदौ– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा राजनीतिक दलहरुको दौडधुप सुरु भइसकेको छ ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आन्तरिक रुपमा निर्वाचनको तयारीलाई तीव्र बनाउँदै आएको छ । निर्वाचन निजिकिएसँगै नेपाली कांग्रेसमा उम्मेदवारी दाबी गर्नेहरु बढ्दै गएका छन् । सोही अनुसार बागमती प्रदेशसभा १ को (ख)मा प्रदेश निर्वाचन लड्न आकांक्षीहरु मात्रै झण्डै एक दर्जन पुगेका छन् ।

सोमबार पार्टी कार्यालयमा भएको नेपाली कांग्रेस प्रदेश १ (ख) कमिटीको बैठकले आकांक्षीहरु १० जनाको नाम पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । आकांक्षीहरु धेरै देखिएपछि आनन्दराम पराजुलीसहित प्रत्यक्षतर्फ १० जनाको र समानुपातिकतर्फ करिब आधा दर्जनको नाम जिल्ला कमिटीमा सिफारिस भएको हो । कांग्रेसबाट पराजुली प्रदेश सांसदको उम्मेदवारको प्रमुख दाबेदार हुन् ।

प्रत्यक्षतर्फ पराजुलीसँगै पार्टी जिल्ला सभापति बुद्ध लामा, अशोक शाक्य, प्रभात दाहाल, इश्वर पाठक, तारा प्रसाद चौलागाई, अर्जुन प्रसाद चौलागाई, होमनाथ गौतम, अञ्जना उपाध्याय र शर्मिला श्रेष्ठको नाम सिफारिस गरिएको जनाइएको छ । समानुपातिकमा लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ, तारा राई कार्की, इन्दिरा न्यौपाने, शम्भु लामा, रमेश गिरी, निलम देवकोटालगायत छन् ।

जिल्लास्थित प्रदेश क्षेत्र समितिहरुले १६ भदौभित्र आकांक्षीहरुको नाम जिल्ला कमिटीमा सिफारिस गरिसक्नु पर्नेछ । प्रतिनिधिसभा क्षेत्रका समितिहरुले १८ गतेभित्र आकांक्षीहरुको नाम सिफारिस गरेपछि जिल्ला कमिटीले २० गते प्रदेश कमिटीमा पठाइसक्नु पर्नेछ । मकवानपुरमा वाम–लोकतान्त्रिक गठबन्धन एक भएर निर्वाचन लड्ने तयारी छ । गठबन्धन भएकाले प्रदेशसभा १ (क)मा माओवादी र १ को (ख)मा कांग्रेसलाई भाग परेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*