खतिवडालाई विडारीको काउण्टर १, तर सम्भावना न्यून
हेटौंडा- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर २ नम्बर क्षेत्रमा नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले दाबी गरेका छन् ।
यसअघि प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा (एकीकृत समाजवाजी)का स्थायी कमिटी सदस्य तथा पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दाबी गरेका थिए । खतिवडाले पार्टीबाट उम्मेदवार सिफारिससमेत गराइसकेका छन् । गठबन्धनकै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विडारीले २ नम्बर क्षेत्रमै उम्मेदवारी दिने भन्दै खतिवडालाई काउन्टर दिएका छन् । खतिवडालाई दिएको काउण्टरमा विडारी कति सफल होलान ? यो निकट भविष्यमै थाहा होला । तर, विडारीले जिल्लाका दुई वटा प्रतिनिधिसभा क्षेत्रमध्ये एउटा जसरी पनि लिने अड्डी कसेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ भन्दा २ नम्बरमा विडारीको आँखा गाडिएको छ । विडारी पनि २ नम्बर क्षेत्रकै हुन् । उनले माओवादी केन्द्रबाट गठबन्धनको नेतृत्व गर्दै उम्मेदवारी दिने बताउँदै आएका छन् । तर, जिल्लामा सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले एक–एक वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र लिएर जाने ‘भद्र सहमति’ भएको बुझिएको छ । जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र २ नम्बर क्षेत्रबाट खतिवडाको सम्भावना बलियो रहेको गठबन्धनभित्र चर्चा छ । गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रदेशसभा निर्वाचनमा दुई वटा सिट दिने तयारी पनि छ ।
जनअनुसार प्रदेश निर्वाचन क्षेत्र १ को (क) र प्रदेश निर्वाचन क्षेत्र २ को (क) नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएको गठबन्धनका एक शीर्ष नेताले जानकारी दिए । प्रदेश निर्वाचन क्षेत्र १ को (ख) र प्रदेश निर्वाचन क्षेत्र २ को (ख) नेपाली कांग्रेसले पाउने छ । नेकपा (एकीकृत समाजवादी)बाट खतिवडाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ लिएपछि प्रदेशसभा निर्वाचनमा दाबी गरेको छैन । माओवादी केन्द्रका विडारीले गत बाम गठबन्धनमा पनि पार्टीले प्रतिनिधिसभा छोडेको भन्दै आगामी निर्वाचनमा एउटा प्रतिनिधिसभा जसरी पनि चाहिने दाबी गर्दै आएका छन् ।
तर, गठबन्धनका नेताहरुका अनुसार विडारीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को टिकट पाउने सम्भावना न्यून छ । गठबन्धनका केन्द्रीय शीर्ष नेताहरुबीच अघिल्लो निर्वाचनमा जितेको क्षेत्र सम्बन्धित पार्टीले लिने बारे सहमति भएको यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका थिए । प्रचण्डकै भनाइलाई आधार मान्दा पनि मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा खतिवडाले टिकट पाउने सम्भावना बलियो छ । खतिवडा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट बिजयी भएका थिए । २ नम्बर क्षेत्रमा विडारीभन्दा खतिवडा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।
जिल्लामा कम्युनिष्ट जग बसालेका खतिवडाले हालसम्म निर्वाचन हारेका छैनन् । उनी चार पटक नै विजयी भएका थिए । कानुन व्यवसायीबाट मूलधारको राजनीतिमा आएका विडारी हालसम्म समानुपातिक कोटाबाट प्रतिनिधिसभा राष्ट्रियसभामा प्रवेश गरेका व्यक्ति हुन् । विडारीलाई प्रत्यक्ष निर्वाचन जित्न कठिन रहेको गठबन्धनभित्रै आंकलन गरिन्छ । ‘उहाँले प्रतिनिधिसभामा दाबी गर्नु स्वभाविक हो । तर, २ नम्बर क्षेत्रमा खतिवडाज्यूले टिकट पाउनु हुन्छ । उहाँको बेस त्यति बलियो छैन, जति खतिवडाज्युको छ । सायद गठबन्धन नभएको भए विडारीज्युले दाबी पनि गर्नु हुँदैन थियो होला’, नेकपा (एकीकृत समाजवाजी) मकवानपुरका एक पदाधिकारीले नाम नबताउने सर्तमा साझाकुरासँग भने ।
नेता विडारीले २ नम्बर क्षेत्रबाट उम्मेदवारी दिने अडान लिए पनि गठबन्धनबाट टिकट पाउने सम्भावना भने न्यून रहेको कांग्रेस नेताहरु बताउँछन् । टिकट नपाउने सम्भावनामा विडारीलाई निर्वाचन क्षेत्र फेर्ने एउटा ‘अप्सन’ १ नम्बर क्षेत्र बाँकी छ । तर, १ नम्बर क्षेत्रमा कांग्रेसबाट सहमहामन्त्री डीनाको बलियो दाबी रहेकाले उनलाई त्यता पनि सहज छैन । यसकारण विडारी आगामी निर्वाचनमा पुनः समानुपातिक कोटाबाट अगाडि बढ्ने देखिन्छ । विडारी संविधान निर्माणकर्ता सदस्यमध्ये एक हुन् ।बर्तौला आए खतिवडालाई पनि असहजप्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेले युवा उम्मेदवार महेश बर्तौलालाई उठाउने तयारी गरिरहेको छ । २ नम्बर क्षेत्रमै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर रानाको पनि चर्चा छ । तर, बर्तौलाले पार्टी केन्द्रीय तहदेखि जिल्ला तहसम्म लबिङ बढाएका छन् । एमालेले देशभर युवा उम्मेदवारलाई प्राथमिकता दिने नीति लिइरहँदा बर्तौलाको सम्भावना बढेको छ । २ नम्बर क्षेत्रकै भीमफेदी गाउँपालिकास्थित नामटार जन्मिएका बर्तौला खतिवडालाई टक्कर दिनसक्ने नेता हुन् ।
बर्तौला अनेरास्ववियु मकवानपुरको अध्यक्ष, अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष हुँदै अहिले पार्टी बागमती प्रदेश कमिटीको उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख छन् ।
मकवानपुरको निर्वाचनमा खतिवडा नयाँ अनुहार हुन् । उनले यसअघि कुनै निर्वाचन नलडेका कारण पनि खतिवडालाई निर्वाचन जित्न सहज भने छैन । किनकी स्थानीय तह निर्वाचनमा मतदाताहरुले नयाँ अनुहारलाई धेरै रुचाएको देखिन्थ्यो । २ नम्बर क्षेत्रमा एमाले र गठबन्धनबीच करिब १२ हजार मतान्तर रहेको तथ्याड्ढ बोकेर हिँडिरहेका छन्, बर्तौला । बर्तौलाले १२ हजार मतान्तरलाई सहजै आफूतिर ल्याउन सक्ने दाबी पार्टीका नेताहरुलाई गरिरहेका छन् । विगत निर्वाचनदेखि खतिवडालाई मत हालेका जनताले आगामी निर्वाचनमा आफूलाई मत हाल्ने तयारी गरिरहेको बर्तौला दाबी गर्छन् ।