ट्राफिक नियम उलंघन गर्ने सवारीबाट महिनामै २४ लाख राजश्व

साझाकुरा
२०७९ भाद्र १७, शुक्रबार ०९:२४

हेटौंडा- मकवानपुरमा ट्राफिक नियम उलंघन गर्ने सवारी साधनको जरिवानाबाट एक महिनामा २४ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को साउन एक महिनामा नै ट्राफिक नियम उलंघन गर्ने सवारी साधनको जरिवानाबाट २४ लाख ६ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको हो । ट्राफिक प्रहरीले साउन महिनामा तीन हजार २ सय ५० वटा सवारी साधनलाई कारबाही गरेको छ ।

मकवानपुर ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०७८÷७९ मा ३० हजार ३ सय २७ सवारी साधनलाई कारबाही गरेर २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा २९ हजारभन्दा बढी सवारी साधनलाई कारबाही गरेर २ करोड ४५ लाख ८८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

साउन महिनामा ९१ वटा ट्याक्टरलाई कारबाही गरेर ७२ हजार रुपैयाँ संकलन भएको छ । त्यस्तैगरि ४ सय ९५ वटा अटो÷ ट्याम्पो÷मयूरीलाई कारबाही गरी ३ लाख ३२ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रहरीले जनाएको छ । ७ सय ६४ वटा ट्रक÷ट्यांकर÷टिपरलाई कारबाही गरेर ६ लाख ९१ हजार रुपैयाँ जरिवाना संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै, ४ सय ७८ वटा बसलाई कारबाही गरेर ३ लाख ५६ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले ६ सय ४२ वटा जीप÷कारलाई कारबाही गरेर ४ लाख ३३ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गर्दा ७ सय ८० मोटरसाइकललाई कारबाही गरेर ५ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*