एमालेमा कतै पुस्तान्तरण, कतै पुरानै अनुहार

साझाकुरा
२०७९ भाद्र १९, आईतवार ११:४४

हेटौंडा- नेकपा एमाले मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनीधिसभा निर्वाचनको लागि ८ जनाको नाम सिफारिस गरेको छ । जिल्लामा रहेको २ वटा प्रतिनीधिसभाको निर्वाचन क्षेत्रको उम्मेदवारको लागि एमालेले ८ जनाको नाम सिफारिस गरेको हो । शुक्रबार जिल्लाको दुवै क्षेत्रिय कमिटीले आगामी निर्वाचनको लागि उम्मेदवारहरुको नाम
सिफारिस गरेको हो ।पुस्तान्तरणको कुरा उठाउँदै आएको एमालेले आगामी निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्दा उक्त कुरालाई पुर्ण रुपमा लागु भने गर्न सकेको छैन । एमालेले मकवानपुरको २ नम्वर क्षेत्रमा पुस्तान्तरणको प्रयास गर्न खोजेको देखिएपनि निर्वाचन क्षेत्र नम्वर १ मा भने वर्षौदेखी देखिदै आएको पुरानै अनुहारलाई दोहोर्याएको छ । एमालेको क्षेत्र नम्वर–१ कमिटीले प्रतिनिधीसभा चुनावका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएको नाममा केहि नाम नयाँ भएपनि प्राथमिकता भने पुरानैले पाएको देखिन्छ ।

शनिबार सम्पन्न क्षेत्रिय कमिटीको हेटौंडामा सम्पन्न बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, अर्का केन्द्रीय सदस्य तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा अधिवक्ता मदन कुमार दाहाल, एमाले मकवानपुरका सदस्यहरु नरहरी महत र रमिला सापकोटाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको छ ।एमालेले प्रतिनीधि सभाको उम्मेदवारको लागि सिफारिस गरेको राना मकवानपुरको तत्कालिन जिल्ला विकास समितीको पूर्व सभापति हुन् भने २०६४ सालको निर्वाचनमा पराजित भएका थिए ।

त्यस्तैगरि एमालेको सिफारिसमा परेका दाहाल ४ पटकसम्म चुनाव लडिसकेका छन् भने ३ पटक निर्वाचित समेत भएका छन् । दाहाल २०४८, २०५६ र २०७४ को निर्वाचनमा विजयी भएका थिए । उनले २०५१ सालको निर्वाचनमा भने पराजय व्यहोरेका थिए । एमालेले निर्वाचन क्षेत्र नम्वर १ को लागि सिफारिस गरेको दाहाल र राना बाहेकका अन्य तीनजना भने निर्वाचनको लागि नयाँ अनुहार हो । दाहाल, महत र सापकोटाले यसअघि कुनैपनि निर्वाचनमा भाग लिएका छैनन् । एमालेको अर्को पुस्ताको रुपमा उनीहरु रहेपनि निर्वाचनमा भने पुरानै अनुहारले प्राथमिकता पाउने निश्चित प्रायः छ । एमालेकै एक जिल्ला सचिवालय सदस्यको अनुसार प्रतिनीधिसभा निर्वाचनको लागि उनीहरुको नाम सिफारिसमा परेपनि टिकट पाउने सम्भावना भने कम छ । निर्वाचनमा उम्मेदवार बन्नेमा उही पुरानो अनुहार अर्थात राना
र दाहालमध्येको एक हुने उनको दावी छ ।

क्षेत्र नम्वर १ मा पुस्तान्तरणलाई व्यवहारमा उतार्न पछि देखिएपनि एमालेले २ नम्वर क्षेत्रमा भने पुस्तान्तरणलाई नै प्राथमिकता दिएको देखिन्छ । एमालेले प्रतिनिधीसभा क्षेत्र
नम्बर–२ मा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश कुमार बर्तौला, सुवासचन्द्र ठकुरी र
बुद्धरत्न मानन्धरको नाम सिफारिस गरेको छ । यी तीनजनामध्ये ठकुरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित व्यक्ति हुन् भने अरु दुई नयाँ अनुहार हो । विद्यार्थी
राजनीति गर्दै आएका प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख बर्तौला एमालेको प्रभावशाली युवा नेताहरुमा नै गनिन्छन् । उसो त, मकवानपुरको क्षेत्र नम्वर २ बाट उनी उम्मेदवार बन्ने प्रवल सम्भावना नरहेको पनि होइन । एमालेकै नेताहरु क्षेत्र नम्वर २ मा सिफारिस भएको ३ जना मध्ये बर्तौला मुख्य दावेदार
रहेको बताउँछन् ।

शनिबार भएको बैठकमा उम्मेदवारी दिन चाहनेले आफ्नो धारणा राखेका थिए । दुवै क्षेत्रको बैठकमा एमालेका नेताहरु डोरमणि पौडेल, जुनेली श्रेष्ठ, भारती पाठक, अनन्त पौडेल, रामचन्द्र राई, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, एमालेका प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रिय कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*