कांग्रेसबाट प्रतिनिधिसभामा डीनासहित चार जना सिफारिस

साझाकुरा
२०७९ भाद्र २०, सोमबार १०:३५

हेटौंडा- नेपाली कांग्रेस मकवानपुरले जिल्लास्थित दुई प्रतिनिधिसभा क्षेत्रका लागि चार जनाको नाम सिफारिस गरेको छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि कांग्रेसले प्रतिनिधिसभा १ र २ नम्बर क्षेत्रका लागि पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना)सहित चार जनाको नाम सिफारिस गरेको हो ।  सिफारिस हुनेमा डीनासहित कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पार्टी जिल्ला पूर्वसभापति रामचन्द्र अर्याल माइकल र नेता जयराम लामिछाने छन् । जिल्ला स्थित कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय समितिहरुले यसअघि जिल्ला समितिमा चार जनाको नाम पठाएका थिए । जसमध्ये प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट डीनाको एकल नाम सिफारिस भएको थियो । डीनाको नाम १ नम्बर क्षेत्रबाट पनि सिफारिस भएर आएको थियो ।

डीनाले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने तयारी गरिरहेकी छन् । बानियाँ, माइकल र लामिछानेको नाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट जिल्ला समितिमा सिफारिस गरिएको थियो । कांग्रेस मकवानपुरको बैठकले आइतबार चार जनाको नाम माथिल्लो समितिमा सिफारिस
गरेको जिल्ला सचिव भिमसेन महतले जानकारी दिए । यस पटक क्षेत्र तोकेर भन्दा पनि गठबन्धनको भागवण्डामा आउने कम्तिमा एक क्षेत्रमा चारजना नेताहरुको नाम सिफारिस गरेको महतले बताए । दुवै क्षेत्र कांग्रेसले पाएको अवस्थामा वा एक क्षेत्र मात्र पाएको अवस्थामा सिफारिस भएको मध्येका नेताहरुलाई उम्मेदवार बनाउन केन्द्रलाई आग्रह गरिएको उनको भनाई छ ।

बानियाँको नाम प्रदेश निर्वाचनका लागि प्रदेश २ को (ख)बाट पनि सिफारिस भएको छ । गठबन्धनमा भागबण्डा मिलाउँदा एउटा मात्रै प्रतिनिधिसभा पाउने सम्भावनालाई मध्यनजर गर्दै बानियाँले प्रदेश निर्वाचन लड्ने तयारीअनुसार प्रदेश २ को (ख)बाट नाम सिफारिस गराएका हुन् । गठबन्धनमा भागबण्डा लगाउँदा कांग्रेसको भागमा पर्ने प्रतिनिधिसभामा डीनाले निर्वाचन लड्ने सम्भावना बलियो छ । गठबन्धनबाट २ नम्बर क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको सम्भावना बलियो
छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*