नयाँ भवनबाट अस्पतालको व्यवस्थापन सुध्रिने संकेत

साझाकुरा
२०७९ भाद्र २१, मंगलवार १०:१८

हेटौंडा- भौतिक संरचनाको अभावमा कमजोर व्यवस्थानबाट पटक–पटक विवादमा तानिँदै आएको हेटौंडा अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेसँगै सुध्रिने संकेत देखाएको छ ।वर्षौदेखि अस्तव्यस्त बनेको सरकारी अस्पताल हेटौंडा अस्पतालले हालसम्म बिरामीको चित्त बुझ्ने तरिकाबाट उपचार नगराएको आरोप लाग्दै आएको
थियो । अस्पताल पुग्ने हरेक बिरामीले अनेकौं समस्या सुनाउँदा सरकारी अस्पतालहरुको बदनाम हेटौंडा अस्पतालकै कारण भइरहेको सन्देश जान्थ्यो । तर, अब अस्पताललेनयाँ भवनबाट सेवा प्रदान गर्न थालेपछि सुधारको संकेत देखाएको छ । हालै निर्मित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवनबाट अस्पतालले आइतबारदेखि सेवा सुरु गरेको हो । प्रतिष्ठान अन्तर्गत्को अस्पतालले जनशक्ति अभाव टार्दै बिरामीहरुलाई राम्रो सेवा दिने दाबी गरिरहेको छ ।

अस्पतालको पुरानो संरचनातर्फको आकस्मिक उपचार कक्षमा ७ वटा बेडमात्रै थियो । ८ वटा बेडमा करिब १५–१६ जना बिरामी राखेर उपचार गराउनुपर्ने बाध्यता थियो । आवश्यक जनशक्ति समेत नहुँदा अस्पतालले उचित व्यवस्थापन गर्न सकेको थिएन । नयाँ भवनबाट आकस्मिक कक्षमा २४ वटा बेडबाट बिरामीको उपचार गरिरहेको प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए । उनले जनशक्ति थप गरेपछि अस्पतालको सेवा बिस्तार गरेर बिरामीलाई लाइनमा बस्नुपर्ने बाध्यता हटाउने दाबी गरेका छन् । अस्पतालले एकैपटक १ सय ४९ जना कर्मचारी माग गरेको छ ।

अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेपछि बिरामीलाई सहजता भएको अस्पताल व्यवस्थापन समिति सदस्य उत्सव चौलागाई बताउँछन् । अस्पतालमा उपचार गर्न आउनेहरुको भीड रहेता पनि नयाँ भवनबाट दिइएको सेवामा सहजता भएको उनको भनाइ छ । नयाँ भवनबाट आकस्मिक र ओपीडी सेवा दिन सुरु गरिएको चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*