मकवानपुरका ठूला दलले टुङ्ग्याए सम्भावित उम्मेदवार

साझाकुरा
२०७९ भाद्र २२, बुधबार ११:१३

हेटौंडा- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरका ठूला राजनीतिक दलहरुले सम्भावित उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।सत्तारुढ गठबन्धनका तीन शीर्ष दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) तथा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सम्भावित उम्मेदवारहरु टुंग्याएका हुन् । मकवानपुरमा प्रतिनिधिसभाको दुई वटा क्षेत्र र प्रदेशसभा सदस्य निर्वाचनका लागि ६ वटा क्षेत्र छन् । तर, यी सबै दलबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरेर करिब डेढ सय जनाको नाम सिफारिस भएको छ । सबैभन्दा धेरै प्रत्यक्ष र समानुपातिक गरेर नेपाली कांग्रेसबाट १ सय १४ जना, नेकपा एमालेबाट २२ माओवादी केन्द्रबाट १४ जना सम्भावित उम्मेदवारहरुको नाम माथिल्लो कमिटीमा सिफारिस भइसकेको छ । ठूला राजनीतिक दलमध्ये सबैभन्दा ढिला गरी नेकपा माओवादी केन्द्रले मंगलबारमात्रै नाम टुंग्याएर सार्वजनिक गरेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेले १८ भदौभित्र सम्भावित उम्मेदवारहरुको टुंगो लगाइसकेका थिए । कांग्रेस मकवानपुरले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षमा चार जनाको नाम सिफारिस गरेको छ ।केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल माइकल र महासमिति सदस्य जयराम लामिछानेको नाम दुई क्षेत्रका लागि सिफारिस गरेको हो । डीनाको नाम १ र २ नम्बर क्षेत्रीय समितिहरुले जिल्लामा सिफारिस
गरेर पठाएका थिए । २ नम्बर क्षेत्रबाट डीना एकल सिफारिसमा परेकी थिइन् ।

प्रतिनिधिसभाका लागि १ नम्बर क्षेत्रबाट डीनासहित बानियाँ, माइकल र लामिछानेको नाम सिफारिस भएको थियो । कांग्रेसको प्रदेश क्षेत्र समितिहरुले ४ वटा प्रदेशसभा निर्वाचनका लागि ठूलो संख्यामा उम्मेदवारहरुको नाम जिल्ला समितिमा पठाएको थियो ।यसैगरी, एमाले मकवानपुरले दुई वटा प्रतिनिधिसभा क्षेत्रमा ८ जना प्रत्यक्षतर्फका उम्मेदवारहरुको नाम सिफारिस गरेको थियो । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का रामेश्वर राना, कृष्णप्रसाद दाहाल, मदनकुमार दाहाल, नरहरि महत र रमिला सापकोटाको नाम सिफारिस भएको छ ।जसमध्ये बामगठन्धनबाट उम्मेदवार बनेका दाहाल अघिल्लो निर्वाचनमा १ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि ३ जनाको नाम एमालेले सिफारिस गरेको छ ।

जसमा एमाले बागमती प्रदेश कमिटीका उपमहासचिव महेशकुमार बर्तौला, संविधानसभा सदस्य सुवासचन्द्र ठकुरी र बुद्धरत्न मानन्धरको नाम सिफारिस भएको थियो । प्रदेशसभा निर्वाचनका लागि १४ जनाको नाम सिफारिस भएको जनाइएको छ ।गठबन्धनको दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले सम्भावित उम्मेदवारहरुको नाम टुंगो लगाएर पठाएको छ । दुई प्रतिनिधिसभा र ४ प्रदेश निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस भएको जनाइएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का लागि संविधानसभा सदस्य प्रल्हाद लामिछाने र जीवन गोलेलाई सिफारिस गरेको छ । क्षेत्र नम्बर २ का लागि पार्टी केन्द्रीय सदस्य रामनारायण विडारीको नाम सिफारिस भएको छ ।

माओवादी मकवानपुरका शीर्ष नेताहरु कुमारी मोक्तान, बिजय गौतम, प्रेमबहादुर पुलामी (छिन्तु), लवशेर विष्ट, ओमबहादुर ग्लान, प्रकाशचन्द्र पाण्डे, भीमबहादुर पाख्रिनलगायतको नाम प्रदेश निर्वाचनका लागि सिफारिस भएका छन् । गठबन्धनबाट निर्वाचन जित्न सहज हुने देखिएपछि माओवादी केन्द्रबाट आकांक्षीहरुको लर्को नै लागेको थियो । माओवादी केन्द्रको प्रदेश निर्वाचनका लागि भएको नाम सिफारिसमा आफ्नो नाम नपरेको भन्दै केही नेताले विज्ञप्ति नै जारी गरेका छन् । माओवादीभित्र सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गर्दा विवाद देखिएको हो । नेताहरु सन्तोष बिष्ट, विष्णुहरि ढकालले अवैधानिक निर्णयलाई मान्यता नदिने भन्दै पार्टी अध्यक्षलाई ध्यानाकर्षण गराएका हुन् ।

गठबन्धनको तेस्रो ठूलो दल नेकपा (एकीकृत समाजवादी)बाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि विरोध खतिवडाको एकल नाम सिफारिस भएको छ । एकीकृत समाजवादीले क्षेत्र नम्बर १ का लागि धनप्रसाद गौतम, यादव गजुरेल र विशभ अधिकारीको नाम सिफारिस गरेको जनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि दीपक सिंहको नाम सिफारिस भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरले केन्द्रीय अध्यक्ष कमल थापाको नाम १ नम्बर क्षेत्रका लागि सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*