आयोजक नागस्वतीले जित्यो भेट्रान्स कप

साझाकुरा
२०७९ भाद्र २३, बिहीबार १०:२५

हेटौंडा- आयोजक नागस्वती भेट्रान्स क्लबले हेटौंडामा जारी प्रथम नागस्वती रनिङ शिल्ड ‘एट ए साइड’ भेट्रान्स फुटबल कपको उपाधि जितेको छ । नागस्वतीले बुधबार भएको फाइनल खेलमा ठमेल चियापप भेट्रान्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो । ठमेल चियापपले आफ्नो अग्रतालाई कायम राख्न नसक्दा हार व्यहोर्नु परेको हो । खेलको पहिलो गोल ११ औं मिनेटमै ठमेल चियापपका नरकुमार राईले गरे । ठमेल चियापपको अग्रता ९ मिनेटसम्ममात्रै टिक्यो ।खेलको २० औं मिनेटमा नागस्वतीका राजकुमार घिसिङले खेल बराबरीमा ल्याए । पहिलो हाफ बराबरीमै सकिए पनि खेलको ४२ औं मिनेटमा नागस्वतीका राजकुमार केसीले अर्को गोल थपे । १ गोलका बिरुद्ध २ गोलले अग्रता लिएको नागस्वतीले खेलमा सम्हालिँदै निर्धारित समय टिकाउन सकेपछि उपाधि हात पार्न सफल भएको हो ।

नागस्वतीले २ लाख १ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता ठमेल चियापपले १ लाख १ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पायो । प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेका नागस्वतीका राजकुमार घिसिङले नगद ५० हजारसहित म्यान अफ दी सिरिज उपाधि पाए । उनै घिसिङ फाइनल खेलको म्यान अफ दी म्याच पनि चुनिए । प्रतियोगितामा उत्कृष्ट गोल रक्षक नागस्वतीका दीलिप क्षेत्री भए ।उत्कृष्ट डिफेन्डसर नागस्वतीका भीम श्रेष्ठ, उत्कृष्ट मिल्डफिल्डर ठमेल चियापपका लक्ष्मी यक्क, उत्कृष्ट स्ट्राइकर नागस्वतीका विक्रम श्रेष्ठ घोषित भए । उनीहरुले जनही १०–१० हजार पाए ।बिजेतलाई गोरखबहादुर गण सुपारेटारका गणपति सुभाषचन्द्र महतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा देशभरका ४० वर्ष माथि उमेर समूहका १८ वटा भेट्रान्स क्लबहरुले प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*