कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्छः मुख्यमन्त्री पाण्डे

साझाकुरा
२०७९ भाद्र २३, बिहीबार १०:३४

हेटौंडा- निजामती सेवा दिवस मूल समारोह समिति, बागमती प्रदेशको आयोजनामा बुधबार हेटौंडामा १९ औं निजामती सेवा दिवस मनाइएको छ । हेटौंडामा विभिन्न सरकारी कार्यालयहरुबाट निस्किएको ¥याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा भएको औपचारिक कार्यक्रममा सहमाहित भएको थियो । ‘व्यवसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्द निरौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा निजामती सेवा दिवसको अवसरमा आयोजित विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा बिजयी हुने कर्मचारीलाई पुरस्कृत वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले संधै देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री पाण्डेले कर्मचारीहरुलाई सक्रिय ढंगबाट जनताको कामकाज गर्न निर्देशन दिए । उनले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत् सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा मिलोस् भन्दै शुभकामनासमेत दिएका छन् । ‘हामी राजनीतिज्ञले जनताको मतबाट पाएको मान सम्मान प्रतिष्ठा र जिम्मेवारी कहिल्यै भुल्नु हुँदैन । त्यस्तै राष्ट्रसेवक कर्मचारीले पनि गाउँपाखामा गरिब किसान मजदुरले तिरेको एक–एक रुपैयाँ करबाट हामी पालिएका छौँ भन्ने कुरा भुल्नु हुँदैन’, उनले भने ।

‘जनताप्रति उत्तरदायी भएर काम गर्न सके जनताले सरकारको अनुभूति गर्न सक्छन्, कर्मचारीमाथि भरोसा बढ्दै जान्छ’, पाण्डेले थपे । मुलुकमा विभिन्न व्यवस्था परिवर्तनको चरणमा जनप्रतिनिधिको अभावमा पनि कर्मचारीहरुले प्रशासनिक सेवा, पूर्वाधार विकासदेखि जनताको आधारभूत आवश्यकता पूरा गर्ने, सिफारिसका कामलगायत सम्हालेको बताउँदै अब कर्मचारीले दिने सेवामा परिस्कृत गर्दै आम जनताको विश्वास जित्नुपर्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*