आईटीएफ तेक्वान्दोका २५ जना खेलाडी छनौट

साझाकुरा
२०७९ भाद्र २४, शुक्रबार १०:२७

हेटौंडा-पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागिताको लागि बागमती प्रदेशबाट आईटीएफ तेक्वान्दोका २५ जना खेलाडी छनौट भएका छन् ।
प्रदेशको राजधानी हेटौंडामा भएको छनौटमा सहभागी २५० खेलाडीमध्ये विभिन्न तौल समूहमा २५ खेलाडी छनौटमा परेका हुन् । मकवानपुर आईटीएफ तेक्वान्दो संघका सचिव प्रकाश शाहीले छनौटमा परेका खेलाडीलाई उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले पुरस्कार वितरण गरेको बताए ।कार्यक्रममा बोल्दै लामाले खेलकुदको विकासका लागि उपमहानगरपालिकाले लगानी गर्ने बताइन् ।

नगरप्रमुख लामाले खेलाडीले देश र नगरलाई चिनाउने हुँदा उपमहानगरपालिका खेलकुदलाई महत्वका साथ अघि बढाउने तयारीमा रहेको बताइन् । उनले खेलकुदलाई अघि बढाउनका लागि पूर्वाधार निर्माणको क्षेत्रमा खर्च गरिरहेको बताइन् । उनले चालु आर्थिक वर्ष २०७९÷०८० मा खेलकुदको विकास र पूर्वाधार निर्माणका लागि छ करोड २९ लाख रुपैयाँ बजेट छुट्याएर काम थालिएको जानकारी दिइन् ।

आईटीएफ तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष उमेश राजथलाको अध्यक्षतामा भएको छनौट प्रतियोगिताको समापनमा प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीलगायतको आतिथ्यता थियो । असोजको २८ गतेबाट पोखरामा हुने प्रतियोगितामा सहभागी हुन प्रदेशको रसुवा र दोलखाबाहेकका १० जिल्लाका खेलाडीे छनौट हेटौंडामा २२ र २३ गते सञ्चालन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*