अब जनताको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउनु पर्छः डीना

साझाकुरा
२०७९ भाद्र २६, आईतवार १०:४५

हेटौंडा- नेपाली कांग्रेस पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले अब जनताले घरदैलोमै स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिएकी छन् । नेपाल स्वास्थ्यकर्मी संघ हेटौंडा नगरको प्रथम अधिवेशन शनिबार हेटौंडामा उद्घाटन गर्दै सहमहामन्त्री डीनाले लामो संघर्षपछि प्राप्त उपलब्धिबाट बनेको सरकारले अब जनताको घरदैलोमा सरल र सुलभ तरिकाले स्वास्थ्य सेवा पु¥याउनुपर्ने बताइन् । ‘समयमा उपचार नपाएर अझै पनि जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ’, सहमहामन्त्री डीनाले अब उपचार नपाउने अवस्था होइन, घरदैलोमा उपचार पाउने अवस्था निर्माण गर्न आफू लाग्ने बताइन् ।

स्वास्थ्य क्षेत्रको विकासमा भएका महत्वपूर्ण निर्णयहरु नेपाली कांग्रेस पार्टी नेतृत्वकै सरकारले गरेको भन्दै सहमहामन्त्री डीनाले स्वास्थ्यमन्त्री गगन थापा भएको बेला लागू भएको स्वास्थ्य बीमा कार्यक्रमले जनतालाई स्वास्थ्य सुविधा लिन धेरै सजिलो भएको बताइन् । स्वास्थ्यको क्षेत्रमा सरकारले धेरै लगानी गरेको भएपनि पर्याप्त नभएको उनको तर्क थियो ।मानिसको जीवनसंग जोडिएकाले स्वास्थ्यकर्मीहरुले यसलाई पेशामात्र नठानेर जीवन बचाउने धर्मको रुपमा लिनुपर्ने भन्दै सहमहामन्त्री डीनाले कांग्रेस शुभेच्छुक संगठन नेपाल स्वास्थ्यकर्मी संघआबद्ध स्वास्थ्यकर्मीहरुलाई दत्तचित्त भएर जनताको सेवामा लाग्न निर्देशन दिइन् । उनले स्वास्थ्य क्षेत्रमा कार्यरत् कर्मचारीहरुको पारिश्रमिक ज्यादै न्यून रहेकोले नेपालमै काम नगरेर स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति विदेशिनु परिरहेको दुःखद् पक्ष औंल्याइन् ।

‘निजी स्वास्थ्य संस्थामा काम गर्ने महिला स्वास्थ्यकर्मीहरुको पारिश्रमिकको अवस्था त झन् नाजुक रहेको छ’, सहमहामन्त्री डीनाले अब काम अनुसारको पारिश्रमिक र पारिश्रमिक अनुसारको जनतालाई दिने सेवा सुनिश्चित हुने गरी नीतिगत व्यवस्था हुनुपर्नेमा आफू लड्ने प्रतिबद्धता जनाइन् ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले स्थानीय सरकारअन्तर्गत् काम गर्ने स्वास्थ्यकर्मी सरकारले जनतासंग भेट्ने माध्यम भएको बताए । उनले स्वास्थ्यकर्मीले जनताको
घरघरमा गएर दिने सेवा अत्यन्त व्यवस्थित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य आनन्दराम पराजुलीले देश विकास हुन शिक्षा र स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको बताए । उनले विकासको नाममा बाटोघाटो र भवनमात्र बनाएर नहुने भन्दै शिक्षा, स्वास्थ्य र रोजगार सिर्जना गर्ने काममा तीनै तहको सरकार योजनाबद्ध तरिकाले लाग्नुपर्नेमा जोड दिए । संघ जिल्ला अध्यक्ष भीमसागर गुरागाईंको सभाध्यक्षता रहेको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर क्षेत्र नं. १ का संघीय सभापति दामोदर खनाल, क्षेत्र नं. १ ख का सभापति तथा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, कांगेस हेटौंडा नगर सभापति उत्सव इटेनी र संघका निवर्तमान अध्यक्ष रामआदर पाण्डेलगायतले स्वास्थ्यकर्मीको काम, कर्तव्य, अधिकार र जनतालाई पु¥याउनुपर्ने सेवाको बारेमा प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*