मृत्यु भइसकेको हेटौंडाका बालकमा डेंगु पुष्टि

साझाकुरा
२०७९ भाद्र २७, सोमबार ०९:१३

हेटौंडा- हेटौंडामा विगत दुई हप्तादेखि डेंगु रोगले महामारीको रुप लिएको छ । आइतबारसम्म डेंगुबाट १ हजार ४५ जनामा संक्रमण भएको छ । शुक्रबारसम्म साढे ८ सय जना संक्रमण रहेको मकवानपुरमा आइतबारसम्म बढेर साढे १ हजार पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार डेंगुबाट एक जनाको मृत्युसमेत भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१ का १३ वर्षीय बालक हुन् ।बालकको करिब दुई हप्ताअघि नै मृत्यु भएको थियो । मृत्युको कारण पत्ता लगाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणबाट डेंगु रोग पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

मृत्यु हुनु अघि नै डेंगु पुष्टि भएपनि लामखुट्टेकै टोकाइबाट हुने जापानी इन्सेफलाइटिस संक्रमणको आशंकाले परीक्षणका लागि काठमाडौं पठाइएको थियो । तर, जापानी इन्सेफलाइटिस नभई डेंगुबाटै मृत्यु भएको रिपोर्ट आइतबार आएको घिमिरेले जानकारी दिए । उनले डेंगुबाट बच्न सबैमा आग्रह गरे । जिल्लास्थित सबैभन्दा धेरै डेंगुका बिरामी हेटौंडामा छन् । हेटौंडामा डेंगुले महामारीको रुप लिइरहेपनि यसलाई न्युनिकरण र रोकथामका लागि विभिन्न प्रयास भएका छन् । हेटौंडा अस्पतालमा डेंगु रोगको लक्षणका बिरामीको चाप बढेको छ ।

तर, चिकित्सकहरुले भाइरल ज्वरोका कारण सबैलाई डेंगु नभएको हुने सक्नेतर्फ सचेत गराएका छन् । हेटौंडा अस्पतालले डेंगुका बिरामीहरुको थप उपचारका लागि भरतपुर रिफरसमेत गर्दै आइरहेको छ । डेंगु रोगको लक्षण उच्च ज्वरो आउनु, जिउ आलश्य हुनु, वान्ता वा पेट दुख्नुलगायत हो ।डेंगु लामखुट्टेको टोकाईबाट हुने संक्रमण हो । डेंगुबाट बच्न सबैभन्दा प्रमुख कार्य लामखुट्टेको टोकाईबाट बच्नु रहेको चिकित्सकहरुले बताएका छन् । सुत्दा अनिवार्य झुल लगाउन र घर वरपर पानी जमेका खाल्डा, फोहोर हटाउन सर्वसाधारणहरुलाई हेटौंडा उपमहानगरले आग्रह गरेको छ । देशका सात प्रदेशमध्ये बागमतीमा सबैभन्दा धेरै डेंगु रोगका बिरामी छन् । ललितपुर, काठमाडौं, चितवन, मकवानपुरलगायतका जिल्लामा डेंगुले महामारीको रुप लिएको हो । डेंगु रोगको संक्रमण मकवानपुरमा पनि दिनहुँ बढ्दै गइरहेको हो । बागमती प्रदेशमा थप एक जनाको आइतबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुर जिल्लाको ग्वार्को निवासी ३६ वर्षीय एक पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जानकारी दिएको छ । बागमती प्रदेशमा हालसम्म डेंगू संक्रमितको संख्या ८ हजार ९ सय १७ पुगेको छ । ललितपुरमा सबैभन्दा धेरै ३ हजार ७९ जना, काठमाडौंमा १ हजार ७ सय ९७, मकवानपुरमा १ हजार ४५, चितवनमा २ सय ५ र धादिङमा १ सय २१ जनामा डेंगुको संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*