बागमतीमा डेंगुको अनुसन्धान र निगरानी गर्न सहमति

साझाकुरा
२०७९ भाद्र २८, मंगलवार ०९:५२

हेटौंडा- बागमती प्रदेशमा डेंगु संक्रमणले महामारीको रुपल लिएसँगै त्यसको अनुसन्धान र निगरानी गर्न प्रदेशको स्वास्थय मन्त्रालयले चासो देखाएको छ । स्वास्थ्य मन्त्रालयले डेंगु रोगको संक्रमणबारे अनुसन्धान तथा निगरानी गर्न किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौंडासँग सहमति गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र संघीय स्वास्थ्य मन्त्रालयअन्तर्गतबीच प्रदेशमा फैलिएको डेंगु रोगको अनुसन्धान एवं निगरानी गर्न सोमबार सहमतिपत्रमा हस्ताक्षर भएको हो । स्वास्थ्य मन्त्री निमा लामाको उपस्थितिमा मन्त्रालयका सचिव बद्रीबहादुर खड्का र केन्द्रका निर्देशक डा. विश्वबन्धु बगालेबीच सम्झौता पत्रमा हस्ताक्षरण भएको छ ।

केन्द्रले डेंगु प्रभावित बागमती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुरमा यसको प्रभाव, संक्रमणको अवस्था, निगरानीका लागि अपनाउनुपर्ने
रणनीति लगायतका क्षेत्रमा अनुसन्धान गरि सुझाव दिने मन्त्रालयका प्रवक्ता दीपक तिवारीले जानकारी दिए । अनुसन्धान तथा निगरानीले बागमती प्रदेशमा डेंगु रोग नियन्त्रणका लागि गरिएका प्रयासलाई थप व्यवस्थित गर्न सहयोग पुग्ने उनको भनाइ छ । बागमती प्रदेशमा अहिलेसम्म ६ हजार ६ सय ५४ जना डेंगुका विरामी रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा सबैभन्दा बढी ३ हजार ७९ जना, काठमाडौंमा १ हजार ७ सय ९७ जना, मकवानपुरमा १ हजार ४५ जना, चितवनमा १ सय ७९ जना, भक्तपुरमा १ सय ७० जना, धादिङमा १ सय २१ जना, नुवाकोटमा १४, सिन्धुली ६६ जना, रामेछाप २२ जना, दोलखा १० जना, काभ्रे ४४, सिन्धुपाल्चोकमा ७ जना विरामी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*