मकवानपुरबाट प्रत्यक्ष उम्मेदवार बन्ने कुरामा द्विविधा छैनः डीना

साझाकुरा
२०७९ भाद्र २९, बुधबार ०९:१६

हेटौंडा- नेपाली कांग्रेसका सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू मकवानपुरबाट उम्मेदवार बन्ने बताएकी छन् ।
नेपाल चर्खा प्रचारक गान्धी–तुलसी स्मारक महागुठीको आयोजना एवम् सामुदायिक महिला विकास केन्द्रको सहकार्यमा मंगलबारबाट हेटौंडामा सुरु भएको जनै, रक्षाबन्धन तथा सजावटको सामग्री सम्बन्धी आधारभूत तालिमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् । उनले एकपटक प्रत्यक्ष निर्वाचन जितेर महिला हक अधिकारसंगै जिल्लाको सामग्र विकासमा काम गर्ने ईच्छा रहेको व्यक्त गरिन् । उपाध्यायले मकवानपुरबाट आफू प्रत्यक्षतर्फको उम्मेदवार हुनेमा कुनै द्विविधा नरहेकोसमेत स्पष्ट पारिन् । तालिममा सहभागीहरुलाई शुभकामना दिँदै उनले महिला आत्मनिर्भर बन्नु आवश्यक रहेको सुझाव दिइन् ।

नेपालमा जनैसमेत चाइनाबाट ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सीप सिकेर घरैमा बसेर पनि काम गर्न सकिने बताइन् ।चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीका अध्यक्ष उदयमोहन श्रेष्ठको अध्यक्षतामा भएको तालिमको उद्घाटनमा नेपाली कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायत, महासमिति सदस्य उर्मिला पुलामी, जिल्ला सदस्य तारा राई कार्की, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा. गणेश बल लामा, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, महागुठीका कार्यकारी प्रमुख प्रेमप्रसाद लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिम असोज ३ गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*