नाजिरसँग साथीभन्दा माथिको सम्बन्ध छैनः नम्रता श्रेष्ठ

साझाकुरा
२०७९ भाद्र २९, बुधबार ०९:२५

काठमाडौं- नेपाली फिल्मकी ‘जुनियर’ नम्रता श्रेष्ठले फिल्म ‘गाँठो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसको लामो समयपछि उनले फिल्म ‘माछा माछा’बाट कमब्याक गरिन् । तर, दुर्भाग्य ! दुवै फिल्म सफलताबाट बञ्चित भए । नम्रता फिल्मभन्दा अभिनेता नाजिर हुसेनसँगको सम्बन्धका कारण बढी चर्चामा रहने गरेकी छन् । लकडाउनको समयमा उनीहरुबीच अफेयरको चर्चा चलेको थियो । तर, नम्रताले नाजिरसँग आफ्नो प्रेम सम्बन्ध नभएको स्पष्ट पारेकी छन् । मंगलवार आफू अभिनीत ‘नारी’ बोलको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘नाजिर मेरो एकदमै मिल्ने साथी हो । हामीबीच असल मित्रता छ । तर, प्रेम सम्बन्ध छैन । हामीबीच कहिल्यै साथीभन्दा माथिको सम्बन्ध रहेन र हुने पनि छैन ।’ नम्रता र नाजिरले फिल्म ‘गाँठो’मा सँगै काम गरेका थिए ।

उनले आफू अभिनीत फिल्म असफल हुँदा नराम्रो लाग्ने गरेको अनुभव पनि साटिन् । ‘फिल्मको असफलताले करिअरमा असल गर्छ भन्ने त लाग्दैन । तर, आफूले गरेको काममा सफलता नआउँदा निराश चाहिँ पक्कै भइदो रहेछ । किनकि, फिल्मको काम दुई दिनको हुँदैन, एक वर्षभन्दा बढी लाग्छ । तर, मैले हरेश खाएको छैन । अझै राम्रो गर्छु भनेर अगाडि बढेको छु,’ नम्रताले भनिन् । लकडाउनयता उनले बढीजसो समय जिममा विताइरहेकी छन् । उनले शरीरमा एब्स समेत निकालेकी छन् ।
आफूले एउटा नयाँ फिल्म साइन गरेको र त्यसमा एक्सन भूमिका भएकाले शरीर कसिलो बनाउन जिममा धेरै वर्कआउट गरेको उनको भनाइ छ । नम्रता श्रेष्ठसँग नाम मिलेका कारण समस्या हुने गरेको भए पनि आफ्नो छुट्टै पहिचान बनाउन मिहिनेत गरिरहेको उनी बताउँछिन् ।

नम्रताले अभिनय गरेको ‘नारी’ गीतमा प्रज्वल श्रेष्ठको संगीत र स्वर छ भने गायक श्रेष्ठ र स्याडडे पोपटको शब्द रचना छ । गीतमा ¥याप श्रेष्ठ र पोपट दुवैको छ । भिडियो र अडियो प्रोडक्सन कम्पनी मुनस्टोन प्रोडक्सनले निर्माण गरेको गीतको भिडियोमा नम्रताले घरेलु हिंसाबाट पीडित महिलाको भूमिका निभाएकी छन् । भिडियोमा अनिस मगर र यूनिका केसीको पनि अभिनय रहेको छ । –फिल्मीखबर

यसमा तपाइको मत

Your email address will not be published.


*