मकवानपुरबाट डीना र खतिवडा उम्मेदवार

साझाकुरा
२०७९ भाद्र ३०, बिहीबार ०९:०४

हेटौंडा- मकवानपुरको दुई वटा प्रतिनिधिसभा क्षेत्रमा गठबन्धनबाट उम्मेदवारको टुंगो लागेको दाबी गरिएको छ । १ र २ नम्बर क्षेत्र नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले लिने गरी सहमति बनेको छ । गठबन्धनको शीर्ष नेतृत्वमा प्रतिनिधिसभा मकवानपुर–१ र क्षेत्र नम्बर २ मा भागबण्डा लगाउन आन्तरिक सहमतिको वातावरण बनेको जनाइएको हो । जसअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना) र २ नम्बर क्षेत्रबाट एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा उम्मेदवार बन्ने पक्कापक्की भएको खबर छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा गठबन्धनभित्र विवाद नदेखिएपछि २ नम्बर क्षेत्रमा भने नेकपा माओवादी केन्द्रले पनि दावी गरेको थियो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनारायण विडारीले २ नम्बर क्षेत्रबाट आफूले टिकट पाउनु पर्ने भन्दै सार्वजनिकरुपमै खतिवडालाई स्वीकार्न नसकिने बताएका थिए । अन्ततः जिल्लास्थित दुवै क्षेत्रमा गठबन्धनबाट डीना र खतिवडा उम्मेदवार टुंगो लागेको एक कांग्रेस नेताले साझाकुरालाई जानकारी दिए । डीनाको निर्वाचन क्षेत्र २ नम्बर भएपनि खतिवडालाई छोडेर १ नम्बर क्षेत्रमा निर्वाचन लड्न गएकी हुन् । डीना अघिल्लो निर्वाचनमा खतिवडासँग २ नम्बर क्षेत्रमा पराजित भएकी थिइन् । कांग्रेसका एक नेताका अनुसार सहमहामन्त्री डिनालाई मकवानपुर–१ उम्मेदवार बन्ने सहमति बनेको हो । दुवै क्षेत्रमा गठबन्धनबाट विजयी हुने गरी तालमेल गर्न लागिएको बताइएइको छ ।
डीना दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि सिफारिसमा परेकी थिइन् ।

उनको २ नम्बर क्षेत्रबाट एकल र १ नम्बर क्षेत्रबाट चार जनासँगै नाम सिफारिस भएको थियो । डीनासहित कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, रामचन्द्र अर्याल माइकल र जयराम लामिछाने नाम सिफारिस भएको थियो । डीनासँग आगामी ४ मंसिरमा प्रतिनिधिसभा निर्वाचनमा हेभिवेट नेताको भिडन्त हुने भएको छ । डीनाविरुद्ध पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा नेपाल अध्यक्ष कमल थापा, राप्रपाबाट दिपक सिंह चुनाव उठ्ने तयारी गरिरहेका छन् । खतिवडाविरुद्ध एमाले बागमती प्रदेश कमिटी उपमहासचिव युवा नेता महेश बर्तौला, राप्रपा नेपालबाट पार्टी महामन्त्रीसमेत रहेका युवा नेता राजाराम बर्तौला र राप्रपाबाट जिल्ला उपाध्यक्ष राजन मैनाली भिड्दैछन् । खतिवडा हालसम्म लडेका चारवटै निर्वाचनमा विजयी रहेका छन् । बर्तौलाद्वय पहिलो पटक प्रतिनिधिसभा लड्दै छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*