‘बालबालिकासँग सम्बन्धित कानूनको प्रभावकारी कार्यान्व्यन हुनुपर्छ’

साझाकुरा
२०७९ भाद्र ३०, बिहीबार ०९:११

हेटौंडा- बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले बालबालिकासँग सम्बन्धित सबै खाले कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । बुधवार २९ भदौमा राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै शर्माले बालबालिकाको सवालमा व्यवस्था गरिएका विभिन्न संवैधानिक तथा कानूनी प्रावधानहरुको स्थानीय, प्रदेश तथा संघ गरी तीनै तहका सरकारबाट प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका हुन् । प्रमुख शर्माले वर्तमानका साझेदार एवं भविष्यका कर्णधार मानिने बालबालिकालाई भोलिका दिनमा जिम्मेवार नागरिक बनाउन सम्बन्धित पक्ष लागिपर्न आव्हानसमेत गरेका छन् ।

शर्माले आफ्नो सन्देशमा नेपालको संविधानले बालबालिकाको सर्वाङ्गीण विकासका लागि बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता जस्ता अधिकार व्यवस्था गरेको उल्लेख गरे । नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता गरेको दिनका अवसरमा हरेक वर्ष २९ भदौमा राष्ट्रिय बाल दिवस मनाउँदै आइरहेको उल्लेख गरे । ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नारासहित बुधवार बाल दिवस मनाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*