हेटौंडाकी बरिसासँग भेट्ने भारतीय नायिका रश्मिकाको इच्छा

साझाकुरा
२०७९ भाद्र ३०, बिहीबार ०९:१६

हेटौंडा- हेटौंडाकी एक बालिकासँग भारतीय दक्षिण चलचित्र क्षेत्रकी लोकप्रिय नायिका रश्मिका मन्दनाले भेट्ने इच्छा व्यक्त गरेकी छन् । भारतका ब्लकबष्टर फिल्महरु ‘पुष्पा’, ‘कमरेड’मा अभिनय गरेर चर्चामा आएकी रश्मिकाले बुधवार आफ्नो आधिकारिक ट्वीटरबाट हेटौंडाकी एक बालिकासँग भेट्ने इच्छा जाहेर गरेकी हुन् । रश्मिकाले भेट्न खोजेको बालिका, हेटौंडा–९, स्थित सिमेन्ट रोड निवासी बरिसा क्षेत्री हुन् । उनी स्थानीय रसल एकेडेमीको यूकेजीमा पढ्दै आइरहेकी छन् । बरिसाले करिब चार महिनाअघि एकेडेमी परिसरमै भएको एक कार्यक्रममा नृत्य प्रदर्शन गरेको भिडियो टिकटकमा भाइरल भएको थियो । उनले ‘पुष्पा’ फिल्मको ‘सामी सामी’ गीतमा कम्मर मर्काएकी थिइन् । फिल्ममा मन्दानाले नृत्य दिएकी थिइन् ।

रश्मिकाले आफ्नो ट्वीटर एकाउन्टबाट बरिसाको नृत्यु भिडियो शेयर गरेकी हुन् । बालिका बरिसाले ‘सामी सामी’ गीतमा आफ्नो कम्मर मर्काएको आजभन्दा करिब ४ महिना अघि हो ।बरिसाको त्यो डान्स अहिले भाइरल बनेको छ । ‘रश्मिकाले शेयर गर्नु भएको बालिकाको भिडियो हाम्रो रसल एकेडेमीमा पढ्ने बरिसा हुन् ।,’ रसल एकेडेमीका प्रिन्सिपल सरोज पौडेलले साझाकुरासँग भनेका छन् । बरिसाको भिडियो खिच्ने थिइन्, शिक्षिका रोसनी कार्की । उनले एकेडेमी भने छोडिसकेकी छन् । कार्कीले एकेडेमीमा काम गर्दाको सम्झना आएपछि चार दिनअघि मात्रै बरिसाको नृत्यलाई टिकटकमा हालेकी थिइन् ।

टिकटकको भिडियो भाइरल भएपछि उक्त नृत्य रश्मिकाकोमा पुगेको पौडेलले बताए । रश्मिकाले आफ्नो ट्वीटरमार्फत बालिका बरिसा क्षेत्रीसँग भेट्ने इच्छा व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘म यो प्यारीलाई भेट्न चाहन्छु.. म कसरी गर्न सक्छु ?’ रसल एकेडेमीका प्रिन्सिपल पौडेलले बालिकालाई रश्मिकासँग भेटाउन चाहेको बताएका छन् । तर, रश्मिकासँग भेटाउने कसरी भन्दै उनले प्रश्न गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*