निर्वाचनमा हार्न छुट नपाएकाहरु

साझाकुरा
२०७९ आश्विन ३, सोमबार ०८:२२

हेटौंडा- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ६२ दिन बाँकी छ । यसबीचमा निर्वाचनमा सबै तयारी अघि बढिरहेका छन् । निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लागिसकेको छैन् । तर, टिकट पाउने निश्चित भइसकेकाहरु निर्वाचन क्षेत्रमा खटिँदै छन् । मकवानपुरबाट क्षेत्र नम्बर १ मा निर्वाचन लड्ने तयारी गरिरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंह निर्वाचन जित्न लागिपरेका छन् । यी तीनै जनालाई निर्वाचन नजिकिएसँगै कसरी जित्ने भन्नेमा चिन्ता बढेको छ । थापा, डीना र सिंह तीनै सम्भावित उम्मेदवारहरुले पटक–पटक निर्वाचन हार्दै आएका छन् । अर्थात, यस त्रीपक्षीय भिडन्त पराजित हुँदै आएकाहरुबीचको हुने देखिन्छ ।

जसकारण थापा, डीना र सिंहलाई निर्वाचन हार्न छुट छैन । नेपाली कांग्रेस महिला संघले २२ र२३ भदौमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले डीनालाई भने, ‘टिकट लैजानूस् तर, हारेर नआउनूस्, अब पनि हारेर आउनुभयो भने आफ्नो मुख पनि नदेखाउनूस् ।’ देउवाको यो भनाइले डीना उम्मेदवार बन्ने पक्कापक्की छ । तर, हार्ने छुट भने नभएको हो । यसअघि एउटै निर्वाचन क्षेत्रबाट पटक–पटक निर्वाचन हारेकी डीनाले आगामी निर्वाचनका लागि निर्वाचन क्षेत्र परिवर्तन गरेकी हुन् । उनको निर्वाचन क्षेत्र मकवानपुर–२ मा गठबन्धनकै विरोध खतिवडालाई छोडेर डीनाले १ नम्बर क्षेत्रबाट लड्न लागेकी हुन् । नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रभाव राख्ने महिलामध्ये डिना पनि हुन् । एकमात्र महिला पदाधिकारी भएकाले पनि डीनालाई जसरी पनि निर्वाचन जित्नु छ ।

मकवानपुरमा उनले कम्युनिष्ट नेता विरोध खतिवडासँगै तीन पटक प्रत्यक्ष निर्वाचन हारेकी छन् । पूर्वजलस्रोत राज्यमन्त्रीसमेत भइसकेकी डीना २०४८ सालको आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी थिइन् । त्यतिबेला नेकपा एमालेका (हाल नेकपा एकीकृत समाजवादी) उम्मेदवार विरोध खतिवडासँग डीना हारिन् ।
२०५१ सालको मध्यावधि निर्वाचनमा पनि डीनाले फेरि खतिवडासँगै हार व्यहोरिन् । २०५६ मा भएको आमनिर्वाचनमा उनले उम्मेदवारी दिइनन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा डीना पुनः उम्मेदवार बनिन् ।

डीना फेरि खतिवडासँग पराजित भएकी थिइन् । जनताबाट प्रत्यक्ष अनुमोदित हुने अवसर नपाएकी डीना २०६४ को निर्वाचनमा समानुपातिक कोटाबाट संसद् प्रवेश गरेकी थिइन् । १ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहेका कमल थापालाई पनि आगामी प्रतिनिधिसभा निर्वाचन जसरी पनि जित्ने गरी लागेका छन् । थापाले केही दिनअघि हेटौंडामा भएको एक कार्यक्रममा आफ्नो आगामी निर्वाचन अन्तिम भएको बताएका थिए । पञ्चायतकालीन राजनीतिमा आफ्नो प्रभाव जमाएका थापालाई ‘मुसा’ प्रवृतिको नेताका रुपमा चित्रण गरिन्छ । उनले अन्तिम निर्वाचनमा जितेर जिल्लाबासीको लागि केही गर्ने अबसर दिलाइदिन मतदातालाई आग्रह गरे । २०५१ देखि हालसम्म ९ पटक मन्त्री बनिसकेका छन् उनी । राजतन्त्रदेखि गणतन्त्रसम्म आइसक्दा थापाले सत्ता मोह छोडेका छैनन् ।

तर, जहिल्यै शक्तिमा बस्न रुचाइरहने थापालाई भने आफ्नै जिल्लाका मतदाताले पाँच पटक उठेकोमा चार पटक हार चखाइदिए । चारै पटक एउटै व्यक्ति एमालेका कृष्णप्रसाद दहालसँग पराजित हुन पुगे । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा थापा पराजित बने । त्यतिबेला मकवानपुर–१ मा एमालेका दाहालले थापालाई करिब ५ हजार मतान्तरले हराएका हुन् । उनले २०५१ को मध्यावधि निर्वाचनमा भने जिते । २०५६ को आम निर्वाचनमा थापालाई फेरि दाहालले करिब ५ हजार मतान्तरमै हराए । २०६४ को संविधानसभा निर्वाचनमा मकवानपुर ३ (पछि क्षेत्र २ मा गाभिएको)बाट उम्मेदवार बनेका थापा तेस्रो भए । थापाले निर्वाचन क्षेत्र फेरेर मकवानपुर–२ बाट उठ्दा पनि विरोध खतिवडासँग पराजित हुन पुगे । राप्रपा अध्यक्ष भएकै बेला कांग्रेसको साथमा २०७४ मा प्रतिनिधिसभा निर्वाचन लडेका थापा पुनः दाहालसँग पराजित भए ।

मेयरदेखि सांसद् बन्न उम्मेदवारी दिन नछोडेका अर्का सम्भावित उम्मेदवार दिपक सिंहलाई पनि सपना पूरा गर्न चुनौती छ । हालसम्म लडेका सबै निर्वाचन हारेका सिंहलाई पनि हार्ने छुट छैन ।पटक–पटक निर्वाचन हारेका उनले यसपटक जसरी पनि जित्ने गरी लागेका छन् । विगतका निर्वाचनहरुमा राप्रपाबाट राजनीति गर्दै आएका उनलाई कम्युनिष्टको गढ मकवानपुरमा राजनीतिक सफलता हासिल गर्न मुस्किल प¥यो । सिंहको पनि थापा र डीनाको जस्तै राजनीतिक कहानी छ । सिंहले हालसम्म उठेका जति सबै निर्वाचन हारेका छन् ।

सिंहले २४ वर्षको उमेरदेखि नेपाल राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०५४ सालमा हेटौंडा नगरपालिकाको मेयरका उम्मेदवार रहेका उनी तत्कालीन मेयर डोरमणि पौडेलसँग हारे । २०५६ सालको संविधान सभाको निर्वाचनमा राप्रपाबाट उम्मेदवारी दिएका सिंह नेकपा एमालेका अनन्तप्रसाद पौडेलसँग पराजित भए । २०७० सालको क्षेत्रीय निर्वाचनमा पनि नेकपा एमालेका विरोध खतिवडासँग २ हजार २ सय मतान्तरले सिंह पराजित हुन पुगे । सिंह २०६३ र ०७४ सालको संविधानसभा र प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फका उम्मेदवार थिए ।

जिल्लास्थित सबै राजनीतिक दलले सम्भावित उम्मेदवारहरुको नामावली सम्बन्धित पार्टीको माथिल्लो कमिटीमा सिफारिस गरी पठाइसकेका छन् । उम्मेदवार नटुंगिए पनि टिकट पाउनेमा ढुक्क भएका नेताहरु घरदैलोमा हिँडिरहेका छन् । जनताका घरदेखि अस्पतालसम्म नेताहरु आफ्ना मतदाता भेट्न समय खर्चिरहेका छन् । यसर्थ, मकवानपुर–१ बाट थापा, डीना र सिंहको त्रीपक्षीय भिडन्त रोमाञ्चक हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*