अस्पताललाई एक हजार थान डेंगु परीक्षण किट

साझाकुरा
२०७९ आश्विन ४, मंगलवार ०९:२५

हेटौंडा- पछिल्लो समय हेटौंडामा डेंगुका बिरामी अत्याधिक बढ्न थालेपछि स्थानीय सरकारले परीक्षणको दायरा बढाउन जिल्ला अस्पताललाई निर्देशन दिएको छ ।
हेटौंडामा डेंगु संक्रमणले महामारीको रुप लिएसँगै हेटौंडा अस्पतालमा बिरामीहरुको खचाखच भीड छ । बिरामीहरुलाई बेड पाउनसमेत मुस्किल परिरहेको अवस्थामा अस्पताललाई उपचारमा ध्यान दिन हेटौंडा उपमहानगरपालिकाले निर्देशन दिएको हो । उपमहानगरले डेंगु संक्रमणको  परीक्षणका लागि अस्पताललाई किटसमेत सहयोग गरेको छ ।

डेंगु किट अभाव भएको पाइएपछि उपमहानगरले अस्पताललाई थप एक हजार थान डेंगु परिक्षण किट सहयोग गरेको हो । सोमबार अस्पतालमा पुगेर उपमहानगरका उपमेयर राजेश बानियाँले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई किट हस्तान्तरण गरेका छन् । उपमहानगरपालीकाले यसअघि पनि अस्पताललाई एक हजार किट सहयोग गरेको थियो । किट हस्तान्तरण गर्दै उपमेयर बानियाँले हेटौडा अस्पतालबाट माग भई आए अनुसार आवश्यक पर्ने अन्य स्वस्थ्य सामग्री तथा डेंगु
परीक्षण किट उपलब्ध गराउन उपमहानगर तयार रहेको बताए ।

अस्पतालमा पछिल्लो समय मकवानपुरबासीले उपचारमा सहज पाएको र साना तिना समस्याहरु बिस्तारै समाधान हुँदै आएको बानियाँले बताएका छन् । अहिले डेंगु महामारीका रुपमा रहेकाले आम नागरिकलाई परिक्षण गराउन सजिलो होस भन्दै डेंगु परिक्षण किट अस्पताललाई सहयोग गरेको बानियाँले बताए । अस्पतालका मेसु डा. सापकोटाले हेटौडा अस्पतालमा दैनिक एक सयको हाराहारीमा डेंगुका बिरामी परीक्षणका लागि आउने गरेको बताएका छन् । थप किटका लागि अस्पतालले पनि खरिद गर्ने तयारी गरिरहेको सापकोटाको भनाई छ ।अस्पताल पहिलेको भन्दा धेरै व्यवस्थित हँुदै आएको बताउँदै मेसु डा. सापकोटाले थप व्यवस्थित बनाउन आफुहरु लागिपरेको बताए । किट हस्तान्तरणमा अस्पताल समिति सदस्य हिरा लामा, उपमहानगरपालिको वरिष्ठ जनस्वास्थ्य निरीक्षक कृष्ण यादवलगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*