राष्ट्रपतिबाट संविधान धरापमा पार्ने खेल खेलियोः उपेन्द्र यादव

साझाकुरा
२०७९ आश्विन ६, बिहीबार ०९:०२

हेटौंडा, ५ असोज÷ जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उप्रेन्द्र यादवले  राष्ट्रपति भण्डारीले संविधानलाई नै धरापमा पार्ने खेल खेलेको आरोप लगाएका छन् ।बुधबार हेटौंडामा आयोजित मकवानपुर जिल्ला पार्टी पुनर्गठन घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधानको संरक्षक राष्ट्रपतिले नै संविधान उल्लंघन गर्दै संविधान धरापमा पार्ने खेल खेलेको आरोप लगाएका हुन् । उनले राष्ट्रपतिको कारण नेपाली नागरिक अनागरिक भएर बस्नुपर्ने भएको आरोप लगाए । संविधानको संरक्षकबाटै संविधान उल्लंघन भएको भन्दै राष्ट्रपतिको कदमले नागरिक भएर पनि अनागरिक रहनुपर्नेहरुको मानवअधिकार खोसिएको बताए ।

नागरिकता विधेयकलाई पारित नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नागरिकमाथि अपराध गरेको उनको भनाइ छ । यादवले संविधान रक्षा गर्नुपर्ने संरक्षक राष्ट्रपतिबाट नै संविधान उल्लंघन भएको बताए ।केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत नागरिकता वितरण गर्ने प्रयास गरेकोमा सर्वोच्च अदालतले अध्यादेशबाट नभई कानुन बनाएर नागरिकता दिन भनेको स्मरण गर्दै यादवले भने ‘त्यही अध्यादेश केपी ओलीको सरकारले राष्ट्रपतिसमक्ष पठाउँदा तुरुन्त राष्ट्रपतिबाट प्रमाणीकरण भएर अध्यादेश जारी भयो । त्यही अध्यादेशलाई हुबहु संसदको दुवै सदनले पटक–पटक पारित गरेर राष्ट्रपतिसमक्ष पठाउँदा राष्ट्रपतिले प्रमाणीकरण नगर्नु भनेको संविधान उल्लंघन गर्नु हो’ उनले भने । संसदको दुवै सदनले पटक–पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको उनको आरोप छ ।

कानुनको विषयमा बोल्ने अधिकार, त्यसलाई फेरबदल गर्ने अधिकार र त्यसमा शब्दको हेरफेर गर्ने अधिकार संसदलाई हुने पनि स्पष्ट पार्दै राष्ट्रपतिको पछिल्लो कदमले संसदीय मर्यादा, लोकतन्त्र र नागरिकको अधिकारमाथि प्रहार भएको यादवले बताए । ‘विधेयकलाई फेरबदल गर्ने अधिकार केवल संसदको हो । राष्ट्रपतिले पुनर्विचारको लागि संसदमा पठाउन पाउने अधिकार मात्रै संविधानले सुरक्षित गरेको छ,’ यादवले भने । संसदको दुवै सदनले पटक–पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघनन गरेको जसपा अध्यक्ष यादवले पटक–पटक आरोप लगाए ।

उनले नेपालको निर्वाचन प्रणाली नै बदल्न आवश्यक रहेको बताए । अध्यक्ष यादवले नेपालमा जनताबाट निर्वाचित भएर राष्ट्रपति बन्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । आज भोलिको निर्वाचन महँगो हुँदै गएको भन्दै उनले भने, ‘एउटा स्थानीय तहमा मात्रै करोडौँ खर्च गर्नुपर्ने, हजारौँ कर्मचारी खटाउनुपर्ने भएकाले अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो बनेको छ । अर्थतन्त्रमा गिरावट आइरहेको बेला खर्चिलो निर्वाचन प्रणालीलाई बदल्नुपर्ने छ’ उनले अहिले जसपाले गठबन्धन गरेरै प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी गरिरहेको समेत बताए ।

पत्रकारहरुसँग कुरा गर्दै यादवले हेटौंडामा २५ मिटर सडक विस्तार आवश्यक रहेको समेत बताए । पूर्व उपप्रधानमन्त्रीसमेत  रहेका यादवले बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सडक विस्तार अनिवार्य भएको बताए । उनले सडक क्षेत्रमा पर्ने घरधनीको पहिचान गरी राज्यले क्षतिपूर्ति उपलब्ध गराएर सडक विस्तार गर्न सुझाव दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*