महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

साझाकुरा
२०७९ आश्विन १२, बुधबार ११:३०

हेटौंडा- हेटौंडामा जारी जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।समूह चरणको खेल मंगलबार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा सोमबारदेखि हेटौंडामा प्रतियोगिता भइरहेको छ । मंगलबार भएको समूह चरणको खेलबाट समूह ‘क’ को विजेता बन्दै बकैया गाउँपालिका सेमीफाइनलमा प्रवेश गरेको छ ।बकैयाले सेमीफाइनलमा समूह ‘ख’ को उपविजेता हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको टिमसँग खेल्ने छ ।

यस्तै समूह ‘ख’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको मकवानपुरगढी गाउँपालिका समूह ‘क’को उपविजेता थाहा नगरपालिकासँग सेमिफाइनलमा भेट पक्का गरेको छ । सेमिफाइनल चरणको खेल बुधबार बिहान हुनेछ भने फाइनल खेल बुधबार दिउँसो हुने आयोजक प्रतिष्ठानका महासचिव वसन्त कुमार सिटौलाले बताए । सोमबारदेखि सुरु जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा ७ वटा टिमको सहभागिता थियो । हुप्रचौरमा जारी प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने सिटौलाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*