नेपालको जितमा ह्याट्रिक गरेका अन्जनले चुमे व्यक्तिगत उपलब्धि

साझाकुरा
२०७९ आश्विन १२, बुधबार ११:३४

हेटौंडा- हेटौंडेली फुटबलर अन्जन विष्टको ह्याट्रिकमा नेपालले बंगलादेश विरुद्धको मैत्रीपूर्ण फुटबलमा विजय प्राप्त गरेको छ । खेलको पहिलो हाफमै अन्जनले ह्याट्रिक गरेका हुन् । दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलले पराजित गरेको हो । नेपालले दोस्रो हाफमा अग्रता फराकिलो बनाउन सकेन् । बंगलादेशले दोस्रो हाफमा एक गोल फर्काएको थियो । बंगलादेशका सजजाद हुसेनले एक गोल गरे । मंगलबारको खेलमा नेपालले नतिजा आफ्नो पक्षमा ल्याउँदा हेटौंडा–१० घर भएका अन्जनले व्यक्तिगत उपलब्धीपनि चुमेका छन् । नेपालको जितसँगै अन्जन राष्ट्रिय टोलीबाट अन्तराष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरुको सूचिको दोस्रो स्थानमा उक्लिएका छन् ।

अन्जनले हालसम्म १० गोल गरेका छन् । नेपालको फुटबल इतिहासमा सम्भवतः पहिलो हाफमै ह्याट्रिक गरेको पहिलो रेर्कड रहेको छ । अन्तराष्ट्रिय फुटबलमा नेपालका लागि अन्जनको ह्याट्रिक छैटौं हो। नेपालका लागि यसअघि नरेश जोशी, गणेश थापा, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले एक–एक ह्याट्रिक गरेका छन् ।अन्जनले नेपालका लागि पहिलो गोल १८ औं मिनेटमा गरे । विमल घर्ती मगरको फ्रिकिकलाई अन्जनले हेडरमार्फत बललाई पोष्टको दिशा दिएका थिए । खेलाडीहरुको ठेलमठेलबीच अन्जनले गरेको हेडिङ प्रहारलाई बंग्लादेशका गोलरक्षकले भेउ नै पाएनन् । अन्जनले दोस्रो गोल खेलको २७ औं मिनेट गरे । तेज तामाङको प्रहार विपक्षी गोलरक्षक अनिसुर रहमानले पञ्च गर्दै बचाएपनि रिवाउन्डमा अन्जनले गोल गरेका हुन् । अन्जनले खेलको ३८ औं मिनेटमा ह्याट्रिक पूरा गरेका हुन् । पछिल्लो पटक सन् २०१६ मा नेपालबाट नवयुग श्रेष्ठले सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सलाई ४–१ ले पराजित गर्दा ह्याट्रिक पूरा गरेका थिए । त्यसको ६ वर्षमा अन्जनले ह्याट्रिक गरे ।

मंगलबारको खेलसँगै नेपाल बांग्लादेशविरुद्धका पछिल्लो पाँच प्रतिस्पर्धामा अपराजित रहेको छ । नेपाल र बंगलादेशबीच हालसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । नेपाल ८ खेलमा विजयी हुँदा ५ खेल बराबरीमा सकिएको छ ।पछिल्लो पाँच खेलमध्ये नेपालले पछिल्लोपटक गत वर्ष माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो । त्यसअघि नेपालमै भएको थ्री नेसन्स कपमा बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*