‘दलबाटै महिला प्रत्यक्ष उम्मेदवार बन्न बञ्चित’

साझाकुरा
२०७९ आश्विन १४, शुक्रबार ०९:३३

हेटौंडा- मकवानपुरका महिला नेतृहरुले नेपालका ठूला राजनीतिक दलहरुले महिलाहरुलाई प्रत्यक्ष उम्मेदवार बनाउन नचाहेको बताएका छन् । परिवर्तनको संवाहकको रुपमा रहेका राजनीतिक दलहरुले नै महिलाहरुप्रति हेर्ने दृष्टिकोण राम्रो नभएकाले अबसरहरुबाट बञ्चित हुनुपरेको बताएका हुन् । हेटौंडामा बिहीवार निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सम्वन्धमा आयोजित कार्यक्रममा धारणा राख्दै महिला नेतृहरुले दलहरुले निर्वाचनमा महिलाहरुलाई प्रत्यक्ष उम्मेदवार बनाउनै नचाहेको बताएका हुन् । महिलाहरुको क्षमतासँग जोडेर गलत अर्थ लगाई प्रत्यक्ष उम्मेदवार बन्न दलहरुबाटै अवरोध भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । दलहरुले महिलाहरुलाई जहिल्यै दोस्रो दर्जाका रुपमा राखेको भन्दै महिला नेतृहरुले मुलुकमा अझै महिला आन्दोलन जरुरी रहेको बताएका हुन् ।

महिला गैरसरकारी संस्था महासंघ र संकल्पको आर्थिक सहयोगमा सृजनशील नेपालले आयोजना गरेको कार्यक्रममा सहभागी नेतृहरुले दलको नेतृत्वले महिलाहरुलाई कम नआँक्न चेतावनीसमेत दिए । जनतामा महिला उम्मेदवारहरुप्रति धेरै विश्वास रहेको भन्दै निर्वाचनमा महिलाहरुको अर्थपूर्ण उपस्थिति हुनुपर्नेमा उनीहरुको जोड छ । महिलाहरुलाई स्थानीय तहको निर्वाचनमा पनि प्रमुख पदमा उम्मेदवार बनाउनबाट रोकेको र उपप्रमुख पदमा पनि गठबन्धनका नाममा पुरुषलाई नै उम्मेदवार बनाइएको सहभागीहरुले आरोप लगाएका थिए । राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझाले आगामी ४ मंसिरमा हुने निर्वाचनमा महिलाहरुको उल्लेख्य सहभागिताका लागि सबै दलहरुले जोड दिन आग्रह गरिन् । अझै पनि दलहरुले महिलालाई प्रत्क्षतर्फको उम्मेदवार बनाउनबाट बञ्चित गरेको आरोप लगाएकी छन् ।

सृजनशील नेपालका सल्लाहकार रामकृष्ण थापाले ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा मकवानपुरका दश वटै स्थानीय तहमा महिलाहरुको उम्मेदवारी र चुनावमा विजयी भएपछि अहिले गरेको प्रतिनिधित्वका बारेमा प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए ।३० वैशाखमा भएको निर्वाचनमा मकवानपुरको १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरको प्रमुखमा महिला र बाँकी इन्द्रसरोबर, मनहरी र मकवानपुरगढीमा मात्रै महिला उपाध्यक्ष निर्वाचित भएका थिए ।थाहा नगरपालिका, राक्सिराङ, कैलाश, भीमफेदी, बकैया र बागमती गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै पुरुष छन् । यी स्थानीय तहहरुमा गठबन्धनका कारण महिला उम्मेदवारहरु निर्वाचन लड्नबाट बञ्चित बनेका हुन् । गठबन्धन गरेर उपाध्यक्षमा पुरुष पनि भिड्न पाउने कानुनले राजनीतिमा हाबी भएको पुरुषत्वमाथि बारम्बार प्रश्न उठ्दै आएको छ । निर्वाचनमा एउटा दलले अध्यक्ष वा उपाध्यक्षमा एक पुरुष एक महिला उम्मेदवार हुनुपर्ने व्यवस्था छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी, मकवानपुरगढी, बागमती र बकैया गाउँपालिकामा महिला उपाध्यक्ष थिए । वडा अध्यक्षहरुमा पनि महिला भन्दा पुरुष उम्मेदवारहरु नै हाबी भएका थिए । २०७४ मा मकवानपुरको दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि पुरुष उम्मेदवारहरुले चुनाव जिते । उम्मेदवारी दिनेमा महिला न्यून थिए । सृजनशील नेपालका अध्यक्ष शान्ता बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष रिता ढुंगेलले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य तथा संस्थाका सल्लाहकार मदनकुमार दाहाल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, नेकपा एमाले मकवानपुरका इश्वरप्रसाद मैनाली, नेपाली कांग्रेसका महासमिति सदस्य लक्ष्मी श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य सर्मिला श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य नारायण प्रसाद तिमल्सिना, राप्रपा मकवानपुरका नेता राजन मैनाली, नेकपा माओवादी केन्द्र मकवानपुरका नेता रामहरी सुवेदीलगायतकाको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*