रेडक्रस उपशाखाद्वारा डेंगुविरुद्धको सचेतना अभियान

साझाकुरा
२०७९ आश्विन १४, शुक्रबार ०९:४१

हेटौंडा- परोपकारका क्षेत्रमा क्रियाशील  नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले बढ्दै गइरहेको डेंगु संक्रमणलाई रोक्न सचेतना अभियान चलाएको छ । हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडामा बिहीवार डेंगुविरुद्धको सचेतना अभियान संचालन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको समन्वय तथा युवा रेडक्रस सर्कल हेटौंडाको अगुवाइमा हेटौंडा उपशाखाले बृहत् सचेतना कार्यक्रम संचालन गरिएको छ ।जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरभित्रका छन् । हेटौंडामा पनि ४ नम्बर वडामा धेरै डेंगु संक्रमणबाट प्रभावित भएको भन्दै रेडक्रसले सचेतना अभियान चलाएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिवहरि दाहालले बताए ।

टोलबासी आफै जागरुक भए मात्र डेंगुलाई नियन्त्रण गर्न सकिने सभापति दाहालको भनाइ छ । अभियानअन्तर्गत् डेंगुबाट बच्ने उपायका बारेमा सवारीसाधनदेखि सार्वजनिक स्थलमा जानकारी मुलक ब्यानर टाँगिएको थियो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका कोषाध्यक्ष पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका उपसभापति प्रतिमा गौतम, सचिव किशन घिसिङ, सहसचिव प्रकाश सुवेदी, कोषाध्यक्ष हिक्मत श्रेष्ठ, सदस्य चुडा उप्रेती, केदार ढोडारी, युवा रेडक्रस सर्कल हेटौंडाका अध्यक्ष सुजन खतिवडा, सचिव अभि मैनालीलगायतका व्यक्तिहरुको उपस्थिति थियो ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाले डेंगु प्रभावित बागमती, मकवानपुरगढीलगायत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, ५, ८ र ९ लगायत विभिन्न स्थानीय तह तथा वडाहरुमा सचेतना कार्यक्रम संचालन गरिरहेको रेडक्रसका कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*