जिल्ला दुग्ध संघको १९ करोडको कारोबार

साझाकुरा
२०७९ आश्विन १५, शनिबार ११:३०

हेटौंडा, – जिल्लाभरका दुग्ध सहकारी संस्थाहरुको छाता संगठन मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको २९ औं वार्षिक साधारणसभा भएको छ । संघको भीमफेदी गाउँपालिका–१ स्थित दुग्ध प्रशोधन उद्योग परिसरमा शुक्रबार साधारणसभा गरिएको हो । शुक्रबार नै भएको अधिवेशनले संघको नयाँ नेतृत्व चयन गरेको छ । संघको अध्यक्षमा मकवानपुरगढी–३ निवासी गाई फार्म सञ्चालक हरिप्रसाद कँडेल चयन भएका छन् ।संघले आर्थिक वर्ष २०७८÷०७९ मा १९ करोड ३ लाख ७९ हजार ७ सय ६४ रुपैयाँ कारोबार गरेको जानकारी दिइएको छ । संघका अध्यक्ष बासुदेव अधिकारीले संघले गरेका कार्यहरु र समिक्षात्मक विषयवस्तुहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आव २०७९÷८०मा गरिने कार्यक्रमहरु र योजनाहरु प्रस्तुत गरेका छन् । संघमा ४० वटा सहकारी संस्था आवद्ध रहेको संघमा ७० हजार लिटर दुध भण्डारण क्षमता रहेको छ ।

संघले आव २०७८÷०७९ मा एक करोड ३८ लाख ४४ हजार ३ सय ५२ लिटर दुध खरिद गरिएको संघका व्यवस्थापक कुमारमणि दाहालले जानकारी दिएका छन् । एक करोड १३ लाख शेयरपुजीँ रहेको संघमा एक करोड २३ लाख ८४ हजार १ सय ५४ रुपैयाँ जगेडा कोष रहेको दाहालले बताए । जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख अतिथ्यता तथा संघका अध्यक्ष बासुदेव अधिकारीको सभाध्यक्षतामा सभा भएको थियो ।

सभामा केन्द्रीय दुग्ध उत्पादक सहकारीमहासंघका अध्यक्ष नारायणप्रसाद देवकोटा, बकैया गाउँपालिका अध्यक्ष तथा संघका उपाध्यक्ष धर्मराज लामिछाने, जिल्ला बचत संघका कोषाध्यक्ष विष्णुमाया लामा, मकवानपुरगढी गाउँपालिकाको निवर्तमान अध्यक्ष बिदुर हुमागाई, मकवानपुरगढी–४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा, निर्वाचन समितिका संयोजक अधिवक्त धु्रवप्रसाद चौलागाई, सदस्य विरेन्द्र ढुंगानालगायतकाको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*