मकवानपुरबाट प्रतिनिधिसभामा एकमात्रै महिला उम्मेदवार डीनाले रच्लिन् त ईतिहास ?

साझाकुरा
२०७९ आश्विन २५, मंगलवार ०८:२१

हेटौंडा-मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सो निर्वाचनको लागि आइतबार उम्मेदवारी दर्ता कार्य भइसकेको छ ।मकवानपुरमा दुईवटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर–१ मा १६ जनाको मनोनयन परेको छ । त्यसैगरी प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर क्षेत्र नम्बर–२ मा १० जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ (क) का लागी १० जना, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१ (ख) का लागी १५ जनाले मनोनयन दर्ता गरेका छन् । त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–२ (क) का लागी ८ जना र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–२ (ख) का लागी १० जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

मकवानपुरमा रहेको दुईवटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा हालसम्म प्रत्यक्ष रुपमा चुनावी मैदानमा एकमात्रै महिला सहभागी हुँदै आएकी छन् । उनी नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना हुन् । यसअघिको निर्वाचनहरुमा पनि मकवानपुरबाट निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बन्दै आएकी डीना मंसिर ४ गते हुने निर्वाचनमा पनि प्रत्यक्ष उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएकी छन् । प्रदेशसभामा प्रत्यक्ष चुनाव लड्नेमा कुमारी मोक्तान पनि रहेपनि ठूलो दलबाट संघीय चुनावमा सहभागी हुने महिलामा भने डीना मात्रै हुन् । यसअघिको निर्वाचनहरुमा पराजय भोगेकी डीना आगामी निर्वाचनमा विजयी भएमा उनले मकवानपुरको राजनीतिमा एउटा नयाँ ईतिहास रच्ने निश्चित छ । डीना नेपाली कांग्रेसबाट देशभरिमा पाँचजना मात्रै महिला उम्मेदवारभित्रकी एक हुन् । डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् ।

स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसको पूर्व सभापति भइसकेकी डीना विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । उनी संविधान सभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन् । यो निर्वाचन जिते उनी संघीय मन्त्री हुने पक्का छ । २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भइन् । यो निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर डीनालाई पराजित गरेका थिए । त्यतिबेला डीनाले ११ हजार ५७६ मत पाएकी थिइन् । २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन् । उक्त निर्वाचनमा खतिवडा १६ हजार १४४ मत पाएर निर्वाचित भएका थिए भने डीनाले ३ हजार ७९२ मत पाएर तेस्रो भइन् । त्यतिबेला राप्रपा अध्यक्ष थापा ११ हजार ८७८ मत ल्याएर दोस्रो भएका थिए ।

२०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन् । त्यतिबेला क्षेत्र नं.२ बाट कांग्रेसका रामचन्द्र अर्याल ‘माइकल’ उम्मेदवार बनेका थिए । तर, उनी पनि खतिवडासँगै पराजित भए । २०७४ सालमा भएको निर्वाचनमा पनि डीना पुनः एकपटक खतिवडासँगै पराजित हुन पुगिन् । २०७४ को निर्वाचनमा उनले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् भने खतिवडा ४६ हजार ४८१ मतका साथ निर्वाचित भएका थिए । हालसम्मको राजनीतिक जीवनमा कांग्रेस पार्टीभित्र राम्रो स्थान बनाए पनि उनले जनताबाट प्रत्यक्ष अनुमोदित हुने अवसर भने पाएकी छैनन् । उठेको जति निर्वाचन लगभग हारेकी डीनालाई यसपटक गठबन्धनको आड छ । आगामी निर्वाचनको उनको कडा प्रतिष्पर्धीको रुपमा राप्रपाका पूर्वसहकर्मीहरु उभिएका छन् । राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापा डीनाको मुख्य प्रतिष्पर्धी हुन् । थापा नेकपा एमालेको समर्थनमा एमालेकै सूर्य चिन्हबाट उम्मेदवार बनेका छन् ।

विगतमा लामो समय राप्रपामा सहकर्मीको रुपमा काम गरेका थापा र सिंह एकअर्काविरुद्व चुनावी मैदानमा उत्रिँदा डीनालाई फाइदा हुने देखिन्छ । राप्रपाको पूर्व अध्यक्ष समेत रहेका थापा र सिंहबीच
राप्रपाको मत बाँडिने हुँदा त्यसको लाभ डीनालाई हुने देखिएको हो । केन्द्रबाट एमालेको समर्थन पाएका थापालाई जिल्लामा एमालेले पूर्ण समर्थन गरेको छैन ।आइतबार थापाले उम्मेदवारी दर्ता गराउँदा उनलाई पार्टीले गरेको समर्थनको विरुद्वमा कार्यकर्ताहरुले एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी र तोडफोड गरेका थिए । त्यसैले मकवानपुरबाट नेपालको ठूलो पार्टीको शीर्ष तहमा नेतृत्व गर्ने डीनालाई यसपटकको निर्वाचन जित्न सहज हुने विश्लेषकहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*