हेटौंडामा एकैदिन दुईसय तीनजनामा डेंगु

साझाकुरा
२०७९ आश्विन २६, बुधबार ११:५४

हेटौंडा- मकवानपुरमा कोरोना महामारीलाई सम्झाउने गरी डेंगु संक्रमण बढ्ने क्रम जारी छ । कोरोना संक्रमण दैनिक फैलिए जस्तै डेंगुका बिरामीहरु पनि दैनिक थपिँदै गएका छन् । मकवानपुरमा दैनिक डेंगुका बिरामी बढिरहँदा हेटौंडा अस्पतालसँगै निजी अस्पतालहरुमा पनि बिरामीहरुको चाप बढेको छ । हेटौंडा अस्पतालमा डेंगुको किट नै अभाव भइरहेको छ । डेंगु लक्षण देखिएका बिरामीहरुले सहजै डेंगु परीक्षणका लागि किट नपाएको गुनासो आइरहेको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा २ सय २२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । एकदिनमै जिल्लाभर २ सय २२ जनालाई डेंगु संक्रमण देखिँदा हेटौंडामा मात्रै २ सय ३ जनामा डेंगु देखिएको हो ।

जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडामा डेंगु संक्रमण अत्यधिक बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा २ सय २२ जनामा डेंगु संक्रमण भएको हो । मंगलबार हेटौंडाका २ सय ३ सहित, मनहरीका ९ जना, थाहाका ८ जना, मकवानपुरगढी र जिल्ला बाहिरका एक–एक जनामा डेंगु देखिएको हो । जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ३ हजार ६ सय ४ जना पुगेको छ । एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये डेंगु एक हो ।

चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा
रगत जमेको दागहरु देखापर्ने, बेहोश हुने डेंगु लाग्दा देखिने लक्षणहरु हुन् । एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ ।

डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् । डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरु जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायरहरुमा पानी जम्न दिनुहुँदैन । पानीको ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नु पर्छ ।
मनहरीमा डेंगुबाट बच्न घरदैलो
हेटौं- जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा डेंगु संक्रमणको रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले चासो देखाएको छ ।डेंगुले गाउँमा धेरै बिरामी परेपछि गाउँपालिकाले डेंगु नियन्त्रणसँगै सचेतना फैलाउने उद्देश्यले घरदैलो अभियान चलाउने भएको छ । मनहरी गाउँपालिका विपत व्यवस्थापन समितिको बैठकले डेंगु नियन्त्रणका लागि सबै खाले प्रयासहरु गरिने निर्णय लिएको हो । बैठकले डेंगी संक्रमण नियन्त्रणका लागि सचेतना कार्यक्रमअन्तर्गत् गाउँ–गाउँमा घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाले यसअघि वडा नम्बर ६, ७ र ८ मा डेंगी संक्रण
रोकथामका लागि गाउँ–गाउँमा अटोको माध्यमबाट बजाउदैँ आएको जिंगल प्रत्येक वडाका गाउँ–गाउँमा लाने निर्णय गरेको छ ।

सबै वडाहरुमा सरसफाइ अभियानलाई पनि सञ्चालन गर्ने निर्णय गरेको छ । साथै मनहरी बजारलगायत व्यस्त स्थानहरुमा लामखुट्टेनाशक स्प्रे छर्ने निर्णयसमेत गरेको छ । बैठकमा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक रञ्जन कालाखेतीले लामखुट्टे बस्ने सम्भावित क्षेत्रहरुको सरफाईमा विशेष ध्यान दिन आग्रह गरे । साथै यसबाट जोगिन समस्त गाउँपालिकाबासीलाई आग्रहसमेत गरेका छन् । बैठकले मनहरी गाउँपालिकाअन्तर्गत् ३ वटा विद्यालयमा कार्यरत् विद्यालय नर्सहरुलाई पनि परिचालन गर्ने निर्णय गरेको छ । हाल विद्यालयहरु बन्द रहेकाले समयमा डेंगु नियन्त्रण गर्न जनशक्ति अभाव भएको भन्ने कुरा उठेपछि जनशक्ति व्यवस्थापनको लागि विद्यालय नर्सहरुलाई समेत परिचालन गर्न लागिएको स्वास्थ्य संयोजक रामचन्द्र दाहालले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*