बागमतीका बहालवाला नौ मन्त्री फेरि उम्मेदवार

साझाकुरा
२०७९ आश्विन २६, बुधबार १२:००

हेटौंडा- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागमती प्रदेश सरकारका ९ जना बहालवाला मन्त्री उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचन लडेका मकवानपुरकी कुमारी मोक्तानसहितका ९ जना मन्त्रीहरु प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका हुन् । उम्मेदवार बन्नेहरुमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का अधिकांश छन् । बागमतीमा राज्यमन्त्रीसमेत गरेर कुल १८ जना मन्त्री छन् । जसमध्ये ९ जना निर्वाचन नलड्ने भएका छन् । अधिकांशले गठबन्धनका कारण उम्मेदवार हुन नपाएका हुन् ।
बागमती प्रदेशका वर्तमान तथा तेस्रो मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् । विगतमै केन्द्रीय मन्त्रीसमेत भइरहेका पाण्डे बागमतीको प्रथम मुख्यमन्त्री हुने चाहनाले २०७४ मा धादिङबाट प्रदेशसभा निर्वाचन लडेका थिए । तर, पार्टीभित्रको गुटको खेलका कारण पाण्डे पहिलो मुख्यमन्त्री हुनबाट रोकिए ।

अन्ततः पाण्डे प्रदेश सरकारको अन्तिम कार्यकालको अर्थात बागमतीको तेस्रो मुख्यमन्त्री बने । उनै पाण्डे सत्ता गठबन्धनबाट संघीय संसदका लागि धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका हुन् ।
माओवादी केन्द्रबाट प्रदेशको मन्त्री बनेका ५ जना मध्ये ४ जना आगामी निर्वाचनका लागि उम्मेदवार बनेका छन् । माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल धादिङ–१ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । उनी तत्कालीन नेकपा सरकार हुँदा आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । प्रदेशसभामा माओवादीका शिर्ष प्रदेशसभा सदस्यभित्र पर्ने जम्कट्टेल पुनः मन्त्री हुने चाहनाले प्रदेश निर्वाचन लड्दै छन् । प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तान पनि प्रदेशसभा सदस्यका लागि मओवादी केन्द्रबाट मकवानपुर–२ (क) मा उम्मेदवार बनेकी छन् ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल माओवादी केन्द्रबाट प्रदेशसभामा काभ्रे–१ (क)मा उम्मेदवार बनेका छन् । श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल माओवादी केन्द्रबाट प्रदेशसभाका लागि चितवन–२ (क)मा उम्मेदवार बनेका छन् । उनीहरु सबै सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका हुन् । एकीकृत समाजवादीबाट मन्त्री बनेका ५ जनामध्ये ४ जना फेरि उम्मेदवार बनेका छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीबाट सत्ता गठबन्धनको समर्थनमा चितवन–१ (ख) बाट उम्मेदवार बनेका छन् । प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री बसन्त प्रसाद मानन्धर पनि एकीकृत समाजवादीबाट सत्तारुढ गठबन्धनको सहयोगमा काठमाडौं–७ (ख)बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

एकीकृत समाजवादीबाट प्रदेशको मन्त्री बनेका प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईले गठबन्धनबाट अलग भएर प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीका तर्फबाट काभ्रे–२ (ख)मा उम्मेदवारी दिएका छन् ।प्रदेश सरकारमा सबैभन्दा धेरै मन्त्री रहेको कांग्रेसले आगामी निर्वाचनमा भने थोरैलाई मात्र उम्मेदवार बनाएको छ । कांग्रेसका ८ जना मन्त्रीमध्ये ७ जना उम्मेदवार बन्न सकेनन् । कांग्रेसबाट मन्त्री बनेका प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ आगामी निर्वाचनमा प्रदेशसभा सदस्यका लागि काठमाडौं–१ (क)मा उम्मेदवार बनेका छन् । उनी प्रदेश मन्त्रीमध्ये कांग्रेसबाट टिकट पाउने एकमात्र व्यक्ति हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*