एमाले शून्य, माओवादी प्रदेशमा नै खुम्चियो

प्रतिनिधिसभामा मकवानपुरबाट समानुपातिक उम्मेदवार
साझाकुरा
२०७९ आश्विन २७, बिहीबार १२:१०

हेटौंडा- आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिदै गर्दा देशैभरि यसको रौनक पनि सुरु भइसकेको छ । प्रतिनीधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत समानुपातिकको बन्दसुचि र प्रत्यक्षतर्फ उम्मेदवारी दिने कार्य पनि भइसकेको छ । देशभर १६५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र रहेको छ । ती निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आगामी पाँच वर्ष प्रतिनिधिसभामा रहेर ऐन कानुन निर्माण गर्ने तथा सरकार सञ्चालन गर्ने योजनासहित उम्मेदवारहरुले उम्मेदवारी दिइसकेका छन् । मकवानपुरमा पनि दुई वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको छ । मकवानपुर बागमती प्रदेशको राजधानीसँगै ठुला दलमा शिर्ष तहका नेताहरु भएको जिल्ला पनि हो । तर, पनि आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसुचीमा भने प्रमुख दलहरुबाटै मकवानपुरमा नेताहरु अटाउन सकेका छैनन् ।

प्रतिनिधि सभातर्फ समानुपतिक बन्दसुचीमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शुन्य रहेका छन् । कम्युनिष्टको लालकिल्ला भनेर चिनिने मकवानपुरबाट समानुपतिकमा एक जनाको पनि नाम पर्न नसकेको हो । नेपाली कांग्रेसबाट भने एकजनाको ना बन्दसुचिमा परेको छ ।नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ प्रतिनिधिसभाको बन्दसुचिमा मकवानपुरबाट एकजना पनि पार्न नसकिएको बताउँछन् । जिल्लाको १ नम्वर निर्वाचन क्षेत्र नचाहेरै गुमाएको एमाले मकवानपुरले बन्दसुचिमा पनि नाम पार्न नसकेको हो । एमालेले मकवानपुर–१ मा आफ्नै पार्टीको उम्मेदवार उठाउन चाहेपनि केन्द्रबाट पार्टीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेपछि एउटा प्रत्यक्षतर्फको सिट गुमाएको एमालेले समानुपातिकतर्फ एउटा पनि सिट पाउन सकेन । पार्टीको मकवानपुर अध्यक्ष श्रेष्ठ भने प्रदेशसभातर्फ तीनजनाको ना समानुपातिकमा परेको भन्दै त्यसैमा चित्त बुझाउनुपर्ने बताउँछन् ।

लामो समयदेखी प्रतिनिधिसभामा प्रत्यक्षतर्फ भाग लिन नपाएको नेकपा माओवादी केन्द्र आगामी निर्वाचनमा पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फबाट वञ्चित भएको छ । एमालेसँगको बाम गठबन्धनको कारण अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ सिट नपाएको माओवादी आगामी निर्वाचनमा पनि प्रदेशसभामा मात्रै खुम्चिएको छ ।हाल कायम सत्ता गठबन्धनको कारण प्रत्यक्षतर्फ सिट नपाएको मकवानपुरको माओवादीले समानुपातिकमा पनि प्रतिनिधिसभातर्फ नाम पार्न सकेन । जिल्लामा रहेको दुईवटा प्रतिनिधिसभाको सिट नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेसले बाँडफाड गरेका छन् । माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामीले पार्टीले मकवानपुरमा आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा सिट नपाएको स्विकार गरे । उनले यस विषयमा थप बोल्न भने रुचाएनन् । तर, माओवादीका नेताहरु भने प्रतिनिधिसभा छोडेर प्रदेशसमा मात्रै खुम्चिन परेको भन्दै असन्तुष्ट छन् । उनीहरुले सामाजिक सञ्जालदेखी सार्वजनिक रुपमा नै आफ्नो असन्तुष्टि पोख्दै आएका छन् ।

अर्को ठुलो दल नेपाली कांग्रेसले भने मकवानपुरबाट एकजनाको नाम अटाएको छ । गठबन्धनसँगको भागवण्डामा पनि प्रतिनिधिसभातर्फ मकवानपुर–१ मा प्रतयक्षतर्फको उम्मेदवार महिलालाई बनाएको कांग्रेसले समानुपातिकमा पनि महिलालाई नै अवसर दिएको छ ।कांग्रेसले मकवानपुर–१ बाट सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ भने समानुपातिकमा उमा दाहालको नाम बन्दसुचीमा राखेको छ । कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईं आफूहरुले महिलालाई प्राथमिकता दिएर प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैमा महिलालाई अवसर दिएको बताउँछन् ।मकवानपुरमा नेकपा (एकीकृत समाजवादी) बाट बन्दसुचीमा आदिवासी जनजाती महिलातर्फबाट राजाराम स्याङ्तान र दलिततर्फ कल्पना विश्वकर्मा परेका छन् । त्यस्तै, नेपाली कांग्रेस (वि.पी)बाट खसआर्य तर्फ रिताकुमारी खनाल, दलिततर्फ चुनुकुमारी दमाई, आदिवासी जनजातीतर्फ रामबहादुर थिङ र रामकुमारी घलान रहेका छन् । विवेकशील साझा पार्टीबाट भने दलिततर्फ मकवानपुरकी सोभिता परियार बन्दसुचीमा परेकी छिन् ।

रवि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिता पौडेल, निर्माण प्रजा मनहरी र सुनिता राई (दनुवार) को ना समानुपातिकमा परेको पार्टीको जिल्ला अध्यक्ष राजकुमार न्यौपानेले बताए । राप्रपा नेपालबाट शान्ति बुलुन, राधिका श्रेष्ठ, बालकृष्ण कार्की, अम्बिका कुमारी, सुमित्रा कठायत र कृष्णराम परियार परेका छन् । त्यस्तै, राप्रपाबाट रामबहादुर थोकर र इन्दिरा न्यौपाने परेकी छिन् । राष्ट्रिय जनमोर्चाबाट भने शुभराज गोले परेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ नम्बर क्षेत्रमा गरी २६ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । हेटौंडाको १५ वटा वडा, बागमती गाउँपालिका, बकैया गाउँपालिका र मकवानपुरगढीको ४ वटा वडा रहेको १ नम्बर क्षेत्रमा १६ जनाले उम्मेदवारी दिएका छन् ।

हेटौंडाको ४ वटा वडा, थाहा नगरपालिका, मनहरी, राक्सिराङ, कैलाश, इन्द्रसरोबर, भीमफेदी र मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा रहेको २ नम्बर क्षेत्रमा १० जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना), राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंह, हाम्रो नेपाली पार्टीका दिपेन्द्र सिंह ठकुरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराम थापालगायतले उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेबाट बागमती प्रदेश कमिटीका उपसचिव महेशकुमार बर्तौला, गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री विरोध खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली, राप्रपाका राजन मैनालीलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*