कोरोना महामारी सम्झाउने डेंगु, प्रत्येक वडामा स्प्रे गरिँदै

साझाकुरा
२०७९ आश्विन २८, शुक्रबार ०८:३२

हेटौंडा-  मकवानपुरमा कोरोना (कोभिड–१९) महामारीलाई सम्झाउने गरी एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुन डेंगु संक्रमण फैलिएको छ ।
कोरोना महामारीको त्रास घटेको करिब १ वर्षपछि डेंगु संक्रमण जिल्लाभर फैलिएको हो । कोरोना संक्रमणको त्रास घटेको केही समयभित्रै मकवानपुरका १० वटै स्थानीय तहमा डेंगुले भयावह बनाएको हो । डेंगुका बिरामीले जिल्लास्थित हेटौंडा अस्पताल र निजी अस्पताल भरिएका छन् । दैनिक दोहोरो अंकमा डेंगु संक्रमित फेला परिरहेका छन् । बिहीवार एकैदिन जिल्लामा १ सय ६२ जना नयाँ डेंगु संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टाभित्र हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी, मनहरी, भीमफेदी र राक्सिराङ गाउँपालिका घर भएकाहरुमा डेंगु देखिएको हो । यी पाँच स्थानीय तहमध्ये हेटौंडा उपमहानगरमा सबैभन्दा धेरै डेंगु संक्रमित फेला परेका छन् ।

१ सय ६२ मध्ये हेटौंडामा मात्रै १ सय ४२ जनामा संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । बिहीवार मकवानपुरगढीमा ९ जना, मनहरीमा ८ जना, भीमफेदीमा २ र राक्सिराङमा १ जनालाई संक्रमण देखिएको हो ।कोरोना संक्रमण दैनिक फैलिए जस्तै डेंगुका बिरामीहरु पनि दैनिक थपिँदै गएको तथ्यांकले देखाएको छ । हेटौंडा अस्पतालमा डेंगुको किट नै अभाव भइरहेको छ । डेंगु लक्षण देखिएका बिरामीहरुले सहजै डेंगु परीक्षणका लागि किट नपाएको गुनासो छ । मकवानपुरमा बिहीबारसम्म ३ हजार ९ सय २४ जनालाई डेंगु संक्रमण भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जसमध्ये पुरुष २ हजार १ सय ९३ र महिला १७३१ जना रहेका छन् ।

हेटौंडामा मात्रै ३ हजार २ सय ८६ जनामा संक्रमण भएको हो । डेंगु संक्रमणबाट हेटौंडापछि सबैभन्दा धेरै प्रभावित बनेको मनहरी गाउँपालिकामा हालसम्म ३ सय ३६ जनामा संक्रमण देखिएको कार्यालयले जनाएको छ । थाहा नगरपालिकामा १ सय २८ जना, मकवानपुरगढीमा ६७ जना, भीमफेदीमा ३१ जना, बकैयामा २४, राक्सिराङमा १० जना, बागमती र कैलाशमा १०–१० जना, इन्द्रसरोबरमा १ जनालाई संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लाभित्र जाँच गराउँदा डेंगु संक्रमण देखिएका २० जनाको ठेगाना नखुलेको जनाइएको छ । बाहिरी जिल्लाका तर मकवानपुरमा बसोबास गर्ने ९ जनामा संक्रमण देखिएको हो । मकवानपुरमा हालसम्म १ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकृत लक्ष्मण घिमिरेका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ९५ जना डेंगुको संक्रमणमा रहेपनि चालु आर्थिक वर्ष २०७९÷०८० मा अहिले सम्म ३ हजार ७ सय ६२ जना डेंगुको बिरामी भैसकेका छन् । अहिलेको संक्रमण दर अनुसार डेंगु डरलाग्दो अवस्थामा पुगेको उनले बताए । हेटौंडामा डेंगुका बिरामी उपचार पछि निको भएपनि दोहोरीने बिरामीहरुपनि फेला परेको तथ्याङ छ ।

मकवानपुरका १० पालिकामध्ये सबैभन्दा बढी प्रभावित बनेको हेटौंडामा डेंगु संक्रमण भयावहको स्थितिमा पुगेको छ । उपमहानगरपालिकाले नगरभित्रका १९ वटै वडामा डेंगु नियन्त्रणका लागि स्प्रे छर्ने कार्यलाई निरन्तरा दिइरहेको हेटौंडाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । हेटौंडामा डेंगु नियन्त्रण गर्न सुरु गरेको किटनासक औषधि सहितको स्प्रे नगरका सबै वडाहरुमा पु¥याइएको उनले बताए । वडा कार्यालयहरुले पनि स्प्रे छर्ने कार्यलाई प्रमुखताका साथ ध्यान दिइरहेका छन् । ३ नम्बर वडा कार्यालयले हरेक दिन स्प्रे छर्दै आइरहेको छ । डेंगुको जोखिम उच्च हुँदै गएपछि उपमहानगरले स्प्रे अभियानलाई थप गर्दै लगेको प्रवक्ता न्यौपानेले बताए ।
असारको अन्तिम साताबाट डेंगुको बिरामि देखिन थालेपछि उपमहानगरले स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा नगरभरि डेंगु रोग फैलाउने लामखुट्टेको लर्भा नष्ट गर्ने कार्यक्रम सँगै स्प्रे अभियानलाई पनि अघि बढाएको हो । उपमहानगरले फैलँदै गरेको डेंगु नियन्त्रणका लागि नियमित रुपमा स्प्रे अभियानसहित बिरामीलाई उपचारमा सहयोग पु¥याउनका लागि हेटौंड अस्पतालाई २ हजार भन्दा बढी परिमाणमा किट सहयोग गरेको नगर प्रमुख मिनाकुमारी लामाले बताइन् । किट अभावकै कारण नगरवासी सहित अन्य बिरामिहरुले उपचारमा समस्या व्यहोरेपछि नगरपालिकाले खरिद गरेर किट हस्तान्तरण गरिएको उनले बताइन् ।
नियमित स्प्रे गर्दा पनि डेंगु नियन्त्रणमा नआउनुले थप समस्या भएको उनले बताइन् । अहिले घर बाहिर भन्दा पनि नगरवासीले घर भित्रको सुरक्षालाई ध्यान दिन आवश्यक रहेको बताइन् । उपमहानगरपालिकाले १ देखि १९ नम्बर वडा र स्थानीयको माग अनुसार स्प्रे अभियान चलाइएको जनाइएको छ । बढीमात्रामा बजार क्षेत्रमा डेंगुका बिरामीहरु घेरै देखिएकाले अभियानलाई बजार केन्द्रित गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
उपमहानगरले हेटौंडा बजार क्षेत्रको २, ४, ५, १, १० नम्बर वडालाई प्राथमिकतामा राखेर स्प्रे अभियान चलाइरहेको छ । जोखिम पूर्ण वडाको रुपमा रहेको ४ नम्बर वडालाई विषेश प्राथमिकतामा राखेको अभियानलाई सञ्चालन गरिरहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।
चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ । असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरु देखापर्ने, बेहोश हुने डेंगु लाग्दा देखिने लक्षणहरु हुन् । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्न पानी जम्न सक्ने भाँडाहरु जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीका काम नलाग्ने टायरहरुमा पानी जम्न दिनुहुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*