बागमती प्रदेशको आगामी मुख्यमन्त्री बन्ने कसरतमा ५ जना

साझाकुरा
२०७९ आश्विन २९, शनिबार ०८:३२

हेटौंडा-आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । देश संघीयतामा गएपछि दोस्रोपटक प्रदेशसभाको निर्वाचन हुँदैछ । बागमती प्रदेश सरकारको ८ जना मन्त्रीहरु पनि मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका छन् । प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसहित ८ जना मन्त्रीहरु आगामी निर्वाचनको लागि चुनावी मैदानमा होमिएका हुन् ।प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पाण्डे प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् भने अन्य ७ मन्त्री प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डे सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यको लागि धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका छन् ।

मुख्यमन्त्री पाण्डे प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेसँगै उनी प्रदेश सरकारको आगामी सरकारको नेतृत्व गर्ने रेसबाट आउट भएका छन् । तर, उनीबाहेक अघिल्लो कार्यकालमा प्रदेश सरकार र प्रदेशसभामा रहेका ४ जना मुख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा होमिएका छन् । आसन्न प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेकामध्ये कांग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मुख्यमन्त्रीको दाबेदार देखिएका हुन् ।कांग्रेसबाट इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने दौडका पहिलो प्रतिस्पर्धी हुन् । बानियाँले डोरमणि पौडेल मुख्यमन्त्रीको भूमिकामा रहँदा प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका निर्वाह गरेका थिए ।

आगामी निर्वाचनमा प्रतिनिधिसभा तर्फ चुनाव लड्ने मनस्थिति बनाएका बानियाँलाई मुख्यमन्त्री बनाउनकै लागि कांग्रेसले प्रदेशसभातर्फ उम्मेदवार बनाएको चर्चा छ । उनी चुनाव लड्दै आएको क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’लाई टिकट दिएर बानियाँलाई यस अघि २०७४ मा चुनाव लडेको मकवानपुर–२ (ख) बाटै प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार बनाइएको छ । बानियाँ मकवानपुर–१ बाट २०७० मा भएको दोस्रो संविधानसभा सदस्य पदमा चुनाव जितेर सोही कार्यकालमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गृह राज्यमन्त्रीसमेत बनिसकेका छन् ।

बहुमतको सरकार गुमाएर एकाएक ४३ सांसद लिएर १ वर्ष प्रमुख प्रतिपक्षको भूमिकामा रहेको एमालेबाट पनि दुईजना मुख्यमन्त्रीको आकांक्षी छन् । एमालेबाट काठमाडौं–२ (क)बाट प्रदेशसभातर्फ उम्मेदवार बनेका सानुकुमार श्रेष्ठ मुख्यमन्त्री बन्ने दौडमा छन् । प्रदेशसभाको सभामुख समेत भइसकेका श्रेष्ठ मुख्यमन्त्री बननकै लागि प्रदेशमा दोहोरिएका छन् । उसो त उनले सार्वजनिक रुपमा नै प्रदेश सरकारको मुख्यमन्त्री बन्ने ईच्छा जाहेर नगरेका भने होइन । एमालेबाटै देवी ज्ञवाली पनी मूख्यमन्त्री बन्ने दाउसहित चुनावी मैदानमा छन् ।

त्यस्तै माओवादी केन्द्रका शालिकराम जम्कट्टेल पनि मुख्यमन्त्री बन्ने दौडमा रहेका छन् । प्रदेश सरकार गठन भएदेखि नै सत्तामा रहेका जम्कट्टेल आगामी निर्वाचनपछि पनि सत्ताको नेतृत्व गर्ने होडमा छन् । उनी एमाले–माओवादी केन्द्रको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस यता करिब ११ महिना प्रमुख प्रतिपक्षको भूमिकामा रहेका जम्कट्टेल गठबन्धनबाट एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा आर्थिक मामिला तथा कानुन मन्त्री बने । त्यसो त एमाले विभाजनपछि प्रदेशको मुख्यमन्त्रीमा उनको पनि दावी थियो । तर, केन्द्रबाट माओवादी केन्द्रले अन्य २ वटा प्रदेशमा सरकारको नेतृत्व लिएका कारण उनले मुख्यमन्त्री बन्ने अवसर पाएनन् ।

उनी प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारको आकांक्षी रहे पनि मुख्यमन्त्री बन्ने अपेक्षा लिएर धादिङ–१ (ख)बाट पुनः प्रदेशसभामै उम्मेदवार बनेका छन् । उनलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे पनि सकारात्मक रहेको बताइन्छ ।यता एकीकृत समाजवादी पार्टीबाट प्रदेशका बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनाल मुख्यमन्त्री बन्ने दौडमा छन् । सोही अनुसार उनी चितवन–१ (ख)बाट प्रदेशसभा सदस्य पदका लागि चुनाव लड्दै छन् । उनी चितवन–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्ने तयारीमा रहे पनि सत्ता गठबन्धनमा सो क्षेत्र कांग्रेसको भागमा परेकाले प्रदेशसभामा चुनाव लड्दैछन् । गत निर्वाचनमा एमालेबाट निर्वाचित भएका खनाल डोरमणि पौडेल नेतृत्वको सरकारका पालमा ओझेलमा परेका थिए । आफ्नालाई मात्र सरकार र मन्त्री बनाएको तथा बजेटमा पनि विभेद गरिएको भन्दै उनी पौडेल नेतृत्वको सरकारको कडा आलोचक थिए ।

करिब साढे ३ वर्ष ओझेलमा परेका उनी डोरमणि पौडेलले सरकार छाडेकै दिन समाजिक विकास मन्त्री बने । उनी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनेका थिए ।१५ दिन मन्त्री पद सम्हाले पनि उनले सो सरकारबाट राजीनामा दिएर एमालेबाट विभाजित भएर बनेको पार्टी एकीकृत समाजवादी पार्टीमा आवद्ध भए । एकीकृत समाजवादीमा आवद्ध भएको २ महिना नबित्दै उनी फेरि मन्त्री बने । एकै कार्यकालमा उनले २ पटक मन्त्री बन्ने अवसर पाएका थिए ।उनी सत्ता गठबन्धनको तर्फबाट राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बने । उनी सरकारका प्रवक्ता समेत हुन् । हाल प्रदेश सरकारमा रहेका १८ मन्त्रीमध्ये ८ जना मात्रै आगामी मंसिर ४ गते हुने निर्वाचनको उम्मेदवार बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*