संविधानका हस्ताक्षरकर्तालाई चिनेर मतदान गर्नूस्ः डीना

साझाकुरा
२०७९ आश्विन ३०, आईतवार ०८:३४

हेटौंडा- मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ले संविधानका हस्ताक्षरकर्ताहरुलाई चिनेर मतदान गर्न आग्रह गरेकी छन् ।
नेपाली कांग्रेसकी एकमात्र महिला पदाधिकारी केन्द्रीय सह–महामन्त्री डीनाले लोकतान्त्रिक संविधानका हस्ताक्षरकर्ताहरुलाई चिनेर मतदान गर्नुपर्ने बताएकी हुन् । डीनाले ४ मंसिरमा हुने चुनावमा उठेका उम्मेदवारलाई राम्रोसँग चिन्न आग्रह गरेकी हुन् ।चुनावमा उठेका मध्ये क–कसले लोकतान्त्रिक संविधानको रक्षा गरे र को संविधानको बर्खिलाप गयो भन्ने चिन्न उनको आग्रह थियो । डीनाले राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहसँग प्रतिस्पर्धा गर्दैछिन् । डीनाको भनाई संविधानको विपक्षमा हिँडेकाहरुलाई जनताले चिन्नु पर्ने र संविधान बनाउन भूमिका खेल्नेलाई जिताउन आग्रह थियो । तत्कालीन समयमा थापा र सिंहको पार्टी संविधानको विरोधमा उत्रिएको थियो । डीनाले उनीहरुलाई लक्षित गरेर जनताले चिन्नु पर्ने बताएकी हुन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ गठबन्धन दलले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै सह–महामन्त्री डीनाले नेकपा एमालेका अध्यक्ष ओली आफैंले संविधान मास्न दुई–दुई पटक संसद विघटन गरेको स्मरण गराउँदै त्यही संविधानको विरुद्धमा संसद बाहिर बसेको राप्रपा नेपालका कमल थापालाई उम्मेदवार बनाएको बताइन् ।उनले लोकतान्त्रिक पद्धतीलाई स्थायीत्व दिने कुरामा गठबन्धन दल प्रतिवद्ध रहेको उल्लेख गर्दै लोकतान्त्रि संविधानको पूर्ण कायान्वयनको यात्रामा गठबन्धन दलहरु सँगै रहने बताएकी छन् । नेतृ डीनाले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट उम्मेदार बनेकाहरुलाई आफुे मतदान गर्न र अरुलाई मतदान गर्न लगाउँन सबैसँग आग्रह गरिन ।कार्यक्रममा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवम् प्रदेश सभा क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार प्रेमबहादर पुलामी छिन्तुले गठबन्धनका उम्मेदवारले जिते मात्रै लोकतन्त्र र संविधानले पूर्णता पाउने दावी गरे ।

उनले जनताकै माया र विश्वासमा स्थानीय निकाय निर्वाचन जितेको स्मरण गराउँदै फेरी पनि साथ र सहयोगको लागी आग्रह गरेका छन् । यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ को ख बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता आनन्दरामा पराजुलीले जनचाहना पुरा गर्नका लागी गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गरे । उनले संविधान विरोधीहरुले जित्न नहुनेमा सचेत रहन पनि आग्रह गरे ।
नेपाली कांग्रेस ९ नम्बर वडा समितिका सभापति बिरेन्द्रकुमार लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभाका समानुपातिक उम्मेदवार लक्ष्मी श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुरका समन्वय संयोजक सर्केस घलान, नेकपा एकीकृत समाजवादी मकवानपुरका सचिव बिष्णु दाहाल, नेपाली कांग्रेस हेटौंडा नगरसभापति उत्सव इटेनी लगायत गठबन्धन आवद्ध दलका स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*