मकवानपुरमा डेंगु संक्रमित संख्या चार हजार नाघ्यो

साझाकुरा
२०७९ आश्विन ३०, आईतवार ०८:४४

हेटौंडा- कोरोना (कोभिड–१९) महामारीलाई सम्झाउने गरी मकवानपुरमा डेंगु संक्रमण दैनिक दोहोर अंकमा बढिरहेको छ । मकवानपुरमा कोरोना महामारीलाई सम्झाउने गरी एडिस जातिका
(एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुन डेंगु संक्रमण फैलिएको हो ।जिल्लाका १० वटै स्थानीय तहमा डेंगु संक्रमण फैलिएको छ । जसमध्ये हेटौंडामा डेंगु संक्रमण भयावह बन्दै गइरहेको छ । जिल्लामामा डेंगु संक्रमण हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । मकवानपुरमा शुक्रबारसम्म ४ हजार १ सय भन्दा बढीमा संक्रमण भएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार थप २ सय ७ जनामा डेंगु देखिएसँगै संक्रमण हुनेको सख्या ४ हजार १ सय ३१ पुगेको हो । बिहीवार एकैदिन जिल्लामा १ सय ६२ जना नयाँ डेंगु संक्रमित थपिएका थिए । शनिवार डेंगु संक्रमित फेला परेपनि सार्वजनिक विदाका कारण स्वास्थ्य कार्यालयले तथ्यांक उपलब्ध गराएको छैन् । सबैभन्दा बढी डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । हेटौंडामा हालसम्म ३ हजार ४ सय ७५ जनामा संक्रमण भएको कार्यालयले जनाएको छ ।

हेटौंडासँगै मनहरी गाउँपालिका, थाहा नगरपालिका र मकवानपुरगढीमा पनि डेंगुका बिरामीहरु बढिरहेका छन् । डेंगु बढेसँगै जिल्लाका अस्पताल र निजी स्वास्थ्य क्लिनिकहरुमा बिरामीको चाप पनि बढेको छ । एडिस जातको पोथी लामखुट्टे ग्रामिण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइने गर्छ । जसकारण सहरी क्षेत्रमा डेंगु संक्रमण फैलिरहेको हो । डेंगु हुँदा उच्च ज्वरो आउने, कडा खालको टाउको दुखाइ हुने, आँखाको गेडी पछाडि दुख्ने, सामान्य रुघा लाग्ने, वान्ता हुने, शरीरमा राता खालका बिमिरा देखिने, कडा खालको डेंगुमा विभिन्न जटिलताका लक्षण देखिने हुन्छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकृत लक्ष्मण घिमिरेका अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा १ सय ९५ जना डेंगुको संक्रमणमा रहेपनि चालु आर्थिक वर्ष २०७९÷०८० मा अहिले सम्म ३ हजार ७ सय ६२ जना डेंगुको बिरामी भैसकेका छन् ।

अहिलेको संक्रमण दर अनुसार डेंगु डरलाग्दो अवस्थामा पुगेको उनले बताए । हेटौंडामा डेंगुका बिरामी उपचार पछि निको भएपनि दोहोरीने बिरामीहरुपनि फेला परेको तथ्याङ छ । असारको अन्तिम साताबाट डेंगुको बिरामी देखिन थालेपछि हेटौंडा उपमहानगरपालिकाले स्वास्थ्य कार्यालय मकवानपुरको समन्वयमा नगरभरी डेंगु रोग फैलाउने लामखुट्टेको लर्भा नष्ट गर्ने कार्यक्रमसँगै स्प्रे अभियानलाई पनि अघि बढाएको छ । तर, डेंगु संक्रमण नियन्त्रणमा आउन सकेको छैन् । नियमित स्प्रे गर्दा पनि डेंगु नियन्त्रणमा नआउनुले थप समस्या भएको उपमहानगरपालिकाले जनाएको छ । अहिले घर बाहिर भन्दा पनि नगरवासीले घर भित्रको सुरक्षालाई ध्यान दिन आवश्यक रहेको मेयर मिनाकुमारी लामाले बताइन् ।

उपमहानगरपालिकाले १ देखि १९ नम्बर वडा र स्थानीयको माग अनुसार स्प्रे अभियान चलाइएको जनाइएको छ । बढीमात्रामा बजार क्षेत्रमा डेंगुका बिरामीहरु घेरै देखिएकाले अभियानलाई बजार केन्द्रित गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।उपमहानगरले हेटौंडा बजार क्षेत्रको २, ४, ५, १, १० नम्बर वडालाई प्राथमिकतामा राखेर स्प्रे अभियान चलाइरहेको छ । जोखिम पूर्ण वडाको रुपमा रहेको ४ नम्बर वडालाई विषेश प्राथमिकतामा राखेको अभियानलाई सञ्चालन गरिरहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*